६५ लाख रुपैयाँ धरौटी बुझाएर ८४ दिनपछि थुनामुक्त भए रवि लामिछाने
काठमाडौं, २५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की प्रहरीको हिरासतबाट मुक्त भएका छन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
आदेशपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने रिहा भएका हुन् । उनी ८४ दिनपछि हिरासतमुक्त भएका हुन् ।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले गत २ कात्तिकको राति काठमाडौंबाट पक्राउ गरेर पोखरा पुर्याएको थियो । भोलिपल्ट शनिबार परेकाले ४ गते आइतबार मात्र म्याद लिनका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराएको थियो । त्यसयता पटकपटक म्याद थप्दै हिरासतमा राखेर अनुसन्धान गरिएको थियो ।
सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दा लागेका जिल्ला न्यायाधीश नितिज राईको इजलासले बिहीबार लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो।
रास्वपा सभापति लामिछानेलाई ६५ लाख, पूर्वडिआइजी छविलाल जोशीलाई ८८ लाख, रामबहादुर खनाललाई १५ लाख, लीला पछाइलाई ३७ लाख, आरती गुरूङलाई ५ लाख, मीना गुरूङलाई ५ लाख, कृष्णबहादुर गुरूङलाई १ लाख रूपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको हो ।
लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा पनि मुद्दा चलाइएको छ। लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पनि मुद्दा चलाइएको छ।