रवि लामिछाने: पोखराबाट काठमाडौं आउँदै, आजै अदालतमा आफैँ उपस्थित हुँदै

रवि लामिछाने: पोखराबाट काठमाडौं आउँदै, आजै अदालतमा आफैँ उपस्थित हुँदै

काठमाडौं, २६ पुस । पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बिहीबार ६५ लाख धरौटी बुझाएर छुटेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पोखराबाट काठमाडौं आउन लागेका छन् ।

उनी शुक्रबार काठमाडौं आएर अदालतमा उपस्थित हुन लागेका हुन् । लामिछाने आजै काठमाडौं जिल्ला अदालतमा उपस्थित हुन लागेका  रास्वपाका एक नेताले जानकारी दिए । 

प्रहरीले लामिछाने आफैं अदालतमा उपस्थित हुने शर्तमा उनलाई छाडेको थियो । बिहीबार राति उनी पोखरा नै बसेका थिए ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलगायत ६३ जनाविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले एक अर्ब ५१ करोड बिगो माग दावीसहित ५ पुसमा थप र ७ पुसमा पुरक अभियोजनपत्र जिल्ला अदालतमा दायर गरेको थियो । 

रविविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोगमा मुद्दा दर्ता गरिएको थियो । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पनि उनीविरु मुद्दा दायर गरिएको छ ।

सहकारी ठगी र संगठित अपराधको कसुरमा गत आइतबार ३९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो । यो सहकारीले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ अपचलनको अभियोग छ । 

स्वर्णलक्ष्मी सहकारी ठगीमै पक्राउ परेका सहकारीको लेखा समिति सदस्य सुनिता नेवा चार लाख र सञ्चालक समिति सदस्य कमल लामा तीन लाख धरौटी बुझाएर गत मंगलबार नै रिहा भइसकेका छन्  ।