३७ लाख धरौटी बुझाएर रिहा भइन् लीला पछाईं
काठमाडौं, २६ पुस । सूर्यदर्शन सहकारी हिनामिना प्रकरणमा पक्राउ परेकी लीला पछाईं पनि धरौटी बुझाएर शुक्रबार थुनामुक्त भएकी छिन् । जिल्ला अदालत कास्कीले उनलाई ३७ लाख रुपैयाँ धरौटी तोकेको थियो ।
शुक्रबार धरौटी बुझाएर उनी रिहा भएकी कास्कीका डीएसपी वसन्तराज शर्माले बताए । बिहीबार धरौटी रकम नबुझाएपछि उनी प्रहरी हिरासतमै थिइन् ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले लीलासहित ७ जनालाई बिहीबार धरौटीमा छोड्न आदेश दिएको थियो ।
बिहीबार धरौटी बुझाएर रास्वपा सभापति रवि लामिछाने, छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, मीना गुरुङ र आरती गुरुङ रिहा भएका थिए ।
रवि लामिछानेले ६५ लाख, छविलाल जोशीले ८८ लाख, मीना गुरुङले पाँच लाख, रामबहादुर खनालले १५ लाख, आरती गुरुङले पाँच लाख र कृष्णबहादुर गुरुङले एक लाख धरौटी बुझाएर छुटेका थिए ।