सरकारले निजी क्षेत्रका सुझावलाई बेवास्ता गर्दा अर्थतन्त्र खुम्चियो : अध्यक्ष ढकाल

सरकारले निजी क्षेत्रका सुझावलाई बेवास्ता गर्दा अर्थतन्त्र खुम्चियो : अध्यक्ष ढकाल

काठमाडौं, २६ पुस । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बैंकमा प्रशस्त तरलता हुँदा पनि लगानी हुन नसक्नुमा आम नागरिकमा आत्मविश्वासको कमी रहेको उल्लेख गरेका छन् । 

सञ्चार प्रतिष्ठान सुनौलो नेपालद्वारा आयोजित ‘गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान’ शीर्षकमा जारी प्यानल डिस्कसन कार्यक्रम अन्तर्गत ‘गण्डकी, पर्यटन र राष्ट्रिय अर्थतन्त्र’ शीर्षकमा बोल्दै अध्यक्ष ढकालले कोभिडपछि अर्थतन्त्रको गतिका लागि निजी क्षेत्रले बजेट र मौद्रिक नीतिमा दिएको सुझावहरुलाई वेवास्ता गरेको गुनासो पनि गरे ।

उनले भने, ‘निजी क्षेत्रको तर्फबाट हामीले सधैँ सुझावहरु दिने गरेका थियौँ । कोभिड पछाडि पनि चाहे बजेटमा भनौँ या मौद्रिक नीतिमा भनौँ निजी क्षेत्रको तर्फबाट धेरै नै सुझावहरु दिएका थियौँ । ती सुझावहरुलाई पोलिसी मेकरहरुले निजी क्षेत्रकै फाइदाको लागि हो भन्ने ट्रेडिसनल दृष्टिकोणले हेर्नुभयो । त्यो दृष्टिकोणले गर्दा हामीले दिएको सुझाव अनुसारको पोलिसीहरु बनेनन् । ’

उनले भने निजी क्षेत्रले दिएको सुझावलाई अटेरी गर्दा अर्थतन्त्रको क्रियाकलाप खुम्चिएर गएको दाबी गरे । ‘अहिले सिस्टम नबिग्रिने गरी नीतिमा केही न केही सहजीकरण गर्यौँ भने मात्र अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ ।’अध्यक्ष ढकालले भने  ।