५ महिनामा भित्रियो ६ खर्ब ४० अर्ब रेमिट्यान्स

५ महिनामा भित्रियो ६ खर्ब ४० अर्ब रेमिट्यान्स

काठमाडौँ, २६ पुस । चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा रेमिट्यान्समार्फत ६ खर्ब ४० अर्ब ४३ करोड रुपैयाँ भित्रिएको छ ।

शुक्रबार सार्वजनिक गरेको मंसिर महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनमा गत आर्थिक वर्षको सोही महिनाको तुलनामा यो ४.४ प्रतिशतले बढी भएको नेपाल राष्ट्र बैंकले उल्लेख छ । गत आर्थिक वर्षको पाँच महिनासम्ममा रेमिट्यान्स आप्रवाह २४.२ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार, अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ७३ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह २१.१ प्रतिशतले बढेको थियो ।

चालु आर्थिक वर्षको पाँच महिनासम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ९० हजार ३ सय ८४ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४ सय २५ रहेको छ ।