स्वर्णलक्ष्मी सहकारी ठगी: थुनछेक बहस भोलि

स्वर्णलक्ष्मी सहकारी ठगी: थुनछेक बहस भोलि

काठमाडौं, २७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई सोमबार पुनः अदालत हाजिर गर्नेगरी प्रहरीको जिम्मा लगाउने आदेश दिएको हो ।

गत बिहीबार कास्कीको सूर्यदर्शन सहकारी ठगीमा धरौटीमा छुटेका लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दा दर्ता गरिएको थियो । 

सोही मुद्दाको बयानका लागि लामिछाने आइतबार आफैं अदालतमा उपस्थित भएका थिए । सो लगत्तै अदालतमा बयान चलेको थियो । 

आज थुनछेक बहस नभएपछि इजलासबाट प्रहरीकै जिम्मा लगाउने आदेश भएको रास्वपा अनुशासन आयोगका पूर्वउप्रमुख समेत रहेका अधिवक्ता यज्ञमणी न्यौपानेले जानकारी दिए  ।

‘बयान सकिँदा आज १५ः२० मिनेटमात्रै समय बाँकी भयो, हामीले आजै थुनछेक बहसका लागि आग्रह गरेका थियौं । तर, श्रीमान्‌ले प्रहरीकै जिम्मा लगाउनुभयो ।’ न्यौपानेले भने ।

परिवार वा सरकारी वकिलको जिम्मा रविलाई छाड्न न्यायाधीश अधिकारीसँग अनुरोध गरिएको थियो ।  तर, उनले उक्त प्रचलन नभएको बताउँदै प्रहरीकै जिम्मा दिनुपर्ने बताएको न्यौपानेले जानकारी दिए ।

 भोलि बिहान ११ बजेबाट थुनछेक बहस सुरु हुने बताइएको छ ।