टेलिकमको १७औं वार्षिक साधारणसभा सम्पन्न, ३० प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं, २९ पुस । नेपाल टेलिकमको १७औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ।
राष्ट्रिय सभा गृह काठमाडौंमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को मुनाफा रकम मध्येबाट प्रतिसेयर ३० रूपैयाँका दरले सेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ।
उक्त सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरू उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ।
कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले साधारणसभामा उपस्थित सेयरधनीहरूलाई स्वागत गर्दै कम्पनीको १७औं वार्षिक प्रतिवेदन पेस गरिन्।
आन्तरिक तथा बाह्य वातावरणमा देखिएका विविध प्रतिकूलताकाबीच कम्पनीले कुल ४२ अर्ब ११ करोड आम्दानी गरी ६ अर्ब २३ करोड रूपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ उनको भनाइ छ।
समीक्षा अवधिमा कम्पनीले कर तथा शुल्कवापत आफ्नो कुल आयमध्ये ४१ अर्ब ५९ करोड राजस्वको रुपमा नेपाल सरकारलाई बुझाइ राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याएको समेत बताइएको छ ।
कम्पनीले १७औं साधारणसभाले पारित गरेबमोजिमको लाभांश रकम एनएमबी बैंकमार्फत सर्वसाधारण सेयरधनीहरूलाई वितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ ।