काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस सुरू, निकिताले रविलाई इजलासमै लगाइदिइन् टीका
काठमाडौं, २९ पुस । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा आइतबार रविको बयान भएको थियो । आइतबार बयानमात्र भएपछि रविलाई प्रहरीको जिम्मा लगाइएको थियो । अहिले रविलाई अदालतमा लगेर थुनछेक बहस सुरु गरिएको हो ।
थुनछेक बहस सुरु हुनुअघि इजलासमै रहेकी रवि पत्नी निकिताले रविलाई रातो टीका लगाईदिएको थिईन् । रातो टिका विजयको शुभ संकेत मानिन्छ । अहिले सरकारी वकिलले बहस गरिरहेका छन् । सहन्यायाधीवक्ता रामहरि शर्मा काफ्लेसहित ११ जना सरकारी वकिलले लामिछानेविरुद्धमा बहस गर्ने छन्।
सरकारी वकिलले बहस सकेपछि प्रतिवादी पक्षका वकिलहरूले बहस गर्नेछन्। प्रतिवादी लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ र सुशील पन्तले बहस गर्नेछन्। न्यायाधीश अधिकारीले सरकारी वकिललाई २ घण्टा र रविपक्षका वकिललाई सवा घण्टाको समय निर्धारण गरेका छन् ।
रविविरुद्ध संगठितरूपमा ठगी गरेको अभियोग लगाइएको छ । सो प्रकरणमा रविसहित ३९ जनाविरुद्ध पुस २१ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो ।
लामिछाने गत बिहीबार कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटी तिरेर रिहा भएका थिए ।