मिथिलाञ्चलमा तिला सङ्क्रान्तिको रौनक

मिथिलाञ्चलमा तिला सङ्क्रान्तिको रौनक

जलेश्वर (महोत्तरी), २९ पुस । मिथिलाञ्चल क्षेत्रमा तिला सङ्क्रान्ति (माघे सङ्क्रान्ति) पर्वको रौनक छाएको छ । मिथिलाञ्चलमा धुमधामसँग मनाइने यो पर्वको चहलपहल अहिले यहाँका गाउँ बस्तीमा सुरु भइसकेको जलेश्वर नगरपालिका–५ का संस्कृतिविद् ध्रुव राउतले बताए । 

यस पर्वमा मिथिलाञ्चलमा चिउरा, भुजा र तिलमा सक्खर हालेर बनाइएको लड्डु खाने चलन छ । साथै खिचडी र दही, चिउराको भोजन गर्ने चलन पनि रहेको जलेश्वर नगरपालिका–१ स्थित बाबा जलेश्वरनाथ महादेवका पूजारी उपेन्द्र पाठकले बताए।

पर्व सुरु हुनुभन्दा अघि नै घरघरमा तिल, चिउरा र भुजा ल्याएर लड्डु बनाउने चलन रहेको जलेश्वर–८ की रेणु मण्डल बताइन् । 

यहाँका महिलाका समूहले एकले अर्कोलाई सहयोग गर्दै टोलभरिकै घरमा गएर चिउरा, भुजा र तिलमा सक्खर हालेर लड्डु बनाउने भएकाले पर्वको रौनक अहिले मिथिलाको गाउँगाउँमा देख्न सकिने जलेश्वर–११ की कञ्चन बिच्छाले बताइन् ।