नेपाल-भारत वाणिज्य वार्ता: वाणिज्य सन्धि पुनरावलोकन गर्न छिट्टै वार्ता गर्ने सहमति
काठमाडौं, २९ पुस । नेपाल–भारतबिचको वाणिज्य सन्धि पुनरावलोकनका लागि छिट्टै वार्ता गर्ने, बिआइएस प्रमाणपत्र प्राप्ति–नवीकरण प्रक्रियालाई छिटो–छरितो बनाउनेदेखि भारवहन सीमा हटाउने र रेल सञ्जाल विस्तार गर्नेसम्मका विषयमा सहमति जुटेको छ ।
आइजिसीको आगामी बैठक भारतमा गर्ने पनि सहमति भएको छ । २६ र २७ पुसमा काठमाडौंमा बसेको व्यापार, पारवहन र सहकार्यसम्बन्धी नेपाल–भारत वाणिज्य सचिवस्तरीय अन्तरसरकारी कमिटी (आइजिसी) बैठकमा उक्त समझदारी जुटेको हो ।
नेपाल–भारतबीच वाणिज्य सन्धि पुनरावलोकन गर्ने विषयमा चौथो चरणको वार्ता छिट्टै गर्ने सहमति भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, पारवहन सन्धि कार्यान्वयनमा ल्याउन नेपालद्वारा प्रेषित ‘लेटर अफ एक्स्चेन्ज’ लाई छिट्टै निष्कर्षमा पुर्याउने सहमति समेत भएको छ । दुई मुलुकबीच नेपालमा उत्पादित वस्तु भारतमा निकासी गर्न आवश्यक पर्ने बीआईएस प्रमाणपत्र प्राप्ति प्रक्रिया छिटो छरितो बनाउने सहमति पनि भएको बताइएको छ ।
यस्तै, भारतीय लगानीमा नेपालमा निर्माणाधीन आयोजनामा आवश्यक उपकरण तथा अन्य सामग्री आयात सहजीकरण गर्ने, नेपालमा उत्पादन नहुने पशुजन्य खाद्यपदार्थ भारतबाट हुने आयात सहजीकरण गर्ने सहमति दुई देशबीच भएको छ ।
यसैगरी नेपालको गुणस्तर तथा तापतौल विभाग र भारतको ब्युरो अफ इन्डियन स्ट्यान्र्डर्ड तथा नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र भारतको फुड सेफ्टी एन्ड स्ट्यान्डर्ड अथोरिटीबीच पारस्परिक सहयोग अभिवृद्धि गरी वस्तुको गुणस्तर निर्धारण तथा परीक्षण, प्रमाणीकरण र पारस्पारिक मान्यता प्रक्रिया अगाडि बढाउने समेत बैठकमा समझदारी बनेको छ ।
औषधि आयात निर्यात व्यवस्थित गर्ने, भन्सार प्रक्रिया सहजीकरण गर्ने र दुवै पक्षका विषयगत संयन्त्र मार्फत सम्बन्धित विषय समयमै टुङ्ग्याउँदै जाने विषयमा समेत समझदारी कायम भएको छ ।
व्यापार तथा लगानीका हिसाबले महत्त्वपूर्ण साझेदारका रूपमा रहेका नेपाल–भारतबीच विद्यमान संयन्त्र थप क्रियाशील बनाइ नियमित छलफल तथा बैठक गरी दुवै पक्षको हित प्रवद्र्धन हुने गरी अगाडि बढ्नुपर्नेमा जोड दिइएको मन्त्रालयले जनाएको छ ।