थुनछेक बहस सकिएन, रवि लामिछाने कम्तीमा बुधबारसम्म हिरासतमै रहने

थुनछेक बहस सकिएन, रवि लामिछाने कम्तीमा बुधबारसम्म हिरासतमै रहने

काठमाडौं, २९ पुस । कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीप्रकरणमा मुछिएका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेविरुद्धको मुद्दामा  थुनछेक बहस नसकिएपछि हिरासतमै फर्काइएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई प्रहरीको जिम्मा लगाउने आदेश गरेको छ । अब पर्सि (बुधबार) अदालतमा उपस्थित गराउन प्रहरीलाई भनेको छ । सोमबारबाट सुरु भएको थुनछेक बहस नसकिएपछि पर्सि (बुधबार) हुनेगरी आजका लागि सकिएको छ ।

सोमबार पनि रवि पक्षका वकिलहरूले बाहिरै राख्न अनुरोध गरेका थिए । तर, उनले आइतबारको आदेशलाई नै निरन्तरता दिइएको इजलासबाटै जानकारी गराएका छन् ।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्धको थुनछेक बहस जारी छ । काठमाडौं जिल्ला अदालतमा आज पीडित र सरकारी वकिलको बहस भएको थियो ।

समय अभाव भएकाले प्रतिवादीको तर्फबाट भने आज बहस हुन सकेन । सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल, सहायक जिल्ला न्यायाधिवक्ता चन्द्र सन्जेल, जिल्ला न्यायाधिवक्ता सन्तोषराज कटुवाल, बिना खड्का, राधिका सुवाललगायतले बहस गरेका थिए ।

जाहेरवालाको पक्षबाट सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गरे । रविका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय रमनकुमार श्रेष्ठ र सुशील पन्तले बहस गर्नेछन् ।