भारतीय अभिनेता सैफ अली खानमाथि ज्यान लिनेगरी चक्कु आक्रमण

भारतीय अभिनेता सैफ अली खानमाथि ज्यान लिनेगरी चक्कु आक्रमण

काठमाडौं, ३ माघ । बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु आक्रमण भएको छ । रातको साढे दुई बजे एक व्यक्तिले अभिनेतामाथि चक्कु प्रहार गरेका हुन् । ति व्यक्ति चोरी गर्नका लागि शैफको मुम्बई, बान्द्रस्थित घरमा छिरेका थिए ।

सैफलाई यतिबेला मुम्बईको लीलावटी अस्पतालमा भर्ना गरिएका छन् । त्यहाँ उनको शल्यक्रिया भइरहेको छ । उनलाई चक्कुले ६ पटकसम्म प्रहार गरिएको बताइन्छ । सैफको घाँटी र मेरुदण्डको नजिक गहिरो चोट लागेको छ ।

उनको शरीरमा तीन इन्च गहिरो चोट छ । उनको स्नायु र कस्मेटिक सर्जरी गरिदैछ । चोरसँगको घम्साघम्सीमा सैफका घरेलु कामदारलाई पनि सामान्य चोट लागेको छ । सैफमाथि यो आक्रमण उनका बच्चा तैमूर र जेहको कोठामा भएको थियो । आक्रमणकारी कसरी घरभित्र प्रवेश गरे र त्यहाँसम्म पुगे भनी प्रहरीले अनुसन्धान गरिरहेका छन् । ति व्यक्ति पहिले नै घरभित्र थिए वा बाहिरबाट आए भन्ने सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सैफकी बच्चालाई स्यहारसुसार गर्ने कामदार राती साढे दुई बजे कुनै आवाज सुनेर उठेकी थिइन् । त्यसबेला घरमा सैफ अली खानका सम्पूर्ण परिवार सुतिरहेका थिए । हल्ला सुनेर सैफ उठे । आक्रमणकारी र उनी आमनेसामने भए । सैफले आक्रमणकारीलाई पक्रने प्रयास गरिरहँदा उनले सैफमाथि चक्कु प्रहार गरेका थिए ।