अदालतमा दुर्व्यवहार गर्नेविरुद्ध वरिष्ठ अधिवक्ता त्रिपाठीले दिए जाहेरी
काठमाडौं, ३ माघ । जिल्ला अदालत, काठमाडौं परिसरमा दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका व्यक्तिविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रहरी कहाँ किटानी जाहेरी दिएका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार, त्रिपाठीले प्रहरीमा दिएको ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव सम्बन्धी कसुरको जाहेरी दर्ता भएको छ ।
कालिमाटीको स्वर्णलक्ष्मी सहकारी अनियमितता प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस सकेर निस्किँदा बुधबार त्रिपाठीमाथि दुर्व्र्यवहार भएको थियो । लगत्तै प्रहरीले उनलाई दुर्व्यवहार गरेको आरोपमा ललित केसीलाई पक्राउ गरेको थियो ।
‘उहाँले दिनुभएको जाहेरीका आधारमा पक्राउ परेका केसीलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ’, अधिकारीले भने ।
त्रिपाठीका अनुसार, अदालतबाट निस्किएपछि बहसबारे युट्युबरहरुले सोधेपछि उनी केही बोल्न खोजेका थिए । त्यसक्रममा ‘थुनाएर पैसा फिर्ता हुन्छ रु’ भन्दै एउटा हुलले आएर दुव्र्यवहार गरेको थियो ।
‘मैले बोल्दै गर्दा उनीहरुले घेरेर लछारपछार गर्न थाले, भुइँमा लडाइ दिए’, उनले भने, ‘मलाई पनि एक दुई घुस्सा लाग्यो । तर, बढी चोट मलाई बचाउन खोज्नेलाई लाग्यो ।’
अदालतले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।