नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं, ८ माघ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आजदेखि आईपीओ निष्कासनको बिक्री आवेदन खुलाएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल २२ लाख ५० हजार कित्ताको १० प्रतिशत अर्थात रु.१०० अंकित दरका २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहि रहेका नेपाली नागरिकहरुको लागि निष्कासन गरेको छ ।
यस्तै, कम्पनीले ३ प्रतिशतले हुने ६७ हजार ५०० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुने १ लाख १२ हजार ५०० कित्ता सेयर सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी १८ लाख ४५ हजार ००० कित्ता सेयर सर्वसाधारणमा जारी गर्नेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।