पानी माग्न सिंहदरबार गएका हर्क साम्पाङले प्रधानमन्त्रीसँग भेट्न पाएनन्
काठमाडौँ, ८ माघ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ धरानबासीलाई खानेपानीको माग गर्दै सिंहदरबार पुगेका छन्।
उनी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्ने भन्दै निकैबेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेका थिए। तर, प्रधानमन्त्रीसँग भेट नभएपछि फर्किएका छन्। प्रधानमन्त्री कार्यालयमै रहेको समयमा उनी पुगे पनि भेट हुन सकेन।
उनी आज अर्थ मन्त्रालय र खानेपानी मन्त्रालय पनि गएका थिए। उनले खानेपानी मन्त्री प्रदीप यादवसँग भने भेटेका छन्। ‘उहाँले आफ्नो तर्फबाट पहल गर्छु भन्ने आश्वासन दिनुभएको छ,’ मेयर साम्पाङले भने।
उनले अर्थमन्त्री बिष्णु पौडेलसँग पनि भेट गरेका छन्। प्रधानमन्त्री ओली सगरमाथा संवादका लागि व्यस्त हुनु परेकाले मेयर साम्पाङसँग भेट्न नपाएको उनको सचिवालयले जानकारी दिएको छ।
प्रधानमन्त्रीको समय ५ बजेपछि मिलाइदिने आश्वासन दिए पनि कन्फर्म नगरेपछि उनी त्यहाँबाट निस्केका छन्। ‘मैले करिब २ घन्टा उहाँलाई कुरेँ, भेट्न सकिनँ, पाँच बजे पनि भेट्ने नभेट्ने टुंगो नभएपछि म फर्किएँ,’ उनले भने। उनले ‘प्रधानमन्त्री आफूसँग रिसाएको हुनसक्ने’ अनुमान पनि गरे। ‘प्रधानमन्त्री मसँग रिसाउनुभएको छ होला,’ उनले भने।
उनी सोमबार धरानबाट रित्तो गाग्री बोकेर काठमाडौं आएका थिए। उनी आज बिहान १० बजे सिंहदरबार जाने भनेपछि सिंहरदबार परिसरमा बिहानैदेखि बाक्लो संख्यामा प्रहरी खटाइएको थियो ।
सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको गरेको भन्दै हर्क रित्तो गाग्री लिएर काठमाडौं आएका हुन्।