अछाममा दुई किशोरीको मृत्यु प्रकरण: प्रदेश प्रहरीको टोली पनि खटियो अनुसन्धानमा

अछाममा दुई किशोरीको मृत्यु प्रकरण: प्रदेश प्रहरीको टोली पनि खटियो अनुसन्धानमा

काठमाडौं, १५ माघ। अछाममा गोठालो गएका दुई जना किशोरी मृत भेटिएको घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयको टोली परिचालन भएको छ ।

प्रदेश प्रहरी कार्यालयबाट ढकारी गाउँपालिका–१ को छिन्ने जंगलमा ढकारी–८ पल्साताकी १५ वर्षीय सरस्वती खड्का र १४ वर्षीय इशरा खड्का मृत अवस्थामा भेटिएको घटनाको अनुसन्धानका लागि टोली परिचालित भएको हो । 

जिल्ला प्रहरी कार्यालयले गरिरहेको अनुसन्धानलाई सघाउन प्रदेशबाट छुट्टै टोली परिचालन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेश चन्दले बताए ।

शनिबार बाख्रा चराउन गएका दुवै किशोरी बेपत्ता भएका थिए । खोजी गर्ने क्रममा दुवै जना आइतबार मृत अवस्थामा फेला परेका थिए ।
घटनाको अनुसन्धानका लागि दुई जनालाई पक्राउ गरिएको छ । उनीहरूमाथि अनुसन्धान जारी छ ।

सोधपुछका लागि समेत प्रहरीले केहीलाई नियन्त्रणमा लिएको थियो । उनीहरूलाई सोधपुछपछि छाडिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरी भण्डारीले जानकारी दिए । 

डीएसपी भण्डारीले घटना हत्या वा भवितव्य के हो ? अहिले नै भन्न सकिने अवस्था नरहेको बताए । भण्डारीले अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) सँग पनि सहयोग लिइरहेको बताए ।

भेरी प्रादेशिक अस्पतालमा मृतक किशोरीहरूको शव परीक्षण गरिएको छ तर रिपोर्ट आउन बाँकी छ । उनीहरू शव मंगलबार अछाम ल्याइने प्रहरीले जनाएको छ । मृतकका आफन्तले घटना शंकास्पद रहेकाले गहिरो अनुसन्धान हुनुपर्ने बताएका छन् ।