नेपाल मर्चेन्ट बैंकर्स संघ र एशोसिएशन अफ इन्भेष्टमेन्ट बैंकर्स अफ इन्डियाबीच सम्झौता
काठमाडौं, १५ माघ । नेपाल मर्चेन्ट बैंकर्स संघ र एशोशिएशन अफ इन्भेष्टमेन्ट बैंकर्स अफ इन्डिया (एआईबीआई) बीच मंगलबार लगानी व्यवसायीहरूबीच पारस्परिक सहयोग र सहकार्य सम्बन्धी साझेदारी सम्झौता सम्पन्न भएको छ ।
भारतको मुम्बई स्थित जियो वल्र्ड कन्भेन्सन सेन्टरमा आयोजित एशोसिएशन अफ इन्भेस्टमेन्ट बैंकर्स अफ इन्डिया (एआईबीआई) को १३ औं वार्षिक सम्मेलनमा सो सम्झौता सम्पन्न भएको हो । नेपाल मर्चेन्ट बैंकर्स संघका तर्फबाट अध्यक्ष रामेन्द्र रायमाझी र एआईबीआइका तर्फबाट अध्यक्ष महावीर लुनावतले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
नेपाल मर्चेन्ट बैंकर्स संघ र एशोशिएशन अफ इन्भेष्टमेन्ट बैंकर्स अफ इन्डिया बीच सम्पन्न सम्झौता अनुसार भारत र नेपालका मर्चेन्ट बैंकरहरुबीच सीप विकास तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्ने, नैतिक मापदण्डहरु कायम गर्ने,व्यावसायिक विकास सँगसँगै नियामक निकायहरुसँगको समन्वयलाई बढावा दिने र सूचना तथा प्रविधिको विकासमा पारस्परिक सहयोग र सहकार्य प्रदान गर्ने समझदारी भएको छ ।
एशोसिएशन अफ इन्भेस्टमेन्ट बैंकर्स अफ इन्डिया (एआईबीआई) को मुम्बई बान्द्रा कुर्ला कम्प्लेक्सस्थित जियो वल्र्ड कन्भेन्सन सेन्टरमा आयोजित १३ औं वार्षिक सम्मेलनमा उपयुक्त सम्झौतामा हस्ताक्षर गर्दा सेबीका अध्यक्ष माधबी पुरी बुच, एआईबीआईका अध्यक्ष महावीर लुनावत, सेबीका पूर्णकालिन सदस्य अश्वनी भाटिया, सेबीका कार्यकारी निर्देशक मनोज कुमार, एनएसईका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत आशिषकुमार चौहान र बीएसईका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत सुन्दररमण आरको उपस्थिति रहेको थियो। यसैगरी, हस्ताक्षर कार्यक्रममा नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष रामेन्द्र रायमाझी, निवर्तमान अध्यक्ष विजय लाल श्रेष्ठ, उपाध्यक्ष मनिषनारायण जोशी,महासचिव निर्मल भट्टराई,कोषाध्यक्ष शिभान्त बहादुर पाण्डे, सदस्यहरु लेखनाथ पोख्रेल र सन्दिप कार्कीको उपस्थिति रहेको थियो ।
“IPOs in Emerging Global Superpower” भन्ने मूल नाराका साथ आयोजना गरिएको यस कार्यक्रममा नियामक र बजार विज्ञहरू सहित १००० भन्दा बढी प्रतिनिधिहरू बीच भारतको आर्थिक उन्नतिमा आईपीओको महत्वपूर्ण भूमिकाबारे छलफल भएको थियो ।