बैंकिङ प्रणालीबाट ३० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक
काठमाडौं, १५ माघ । अधिक तरलताको व्यवस्थापन आज केन्द्रीय बैंकले बजारबाट ३० अर्ब रुपियाँ तरलता प्रशोचन गर्ने भएको छ । केही समय यता बैंक तथा वित्तीय संस्थाहरुको भल्टमा लगातार तरलता (लगानी योग्य पुँजी) थुप्रिरहेको छ । तर, लगानीको उपयुक्त क्षेत्र नपाउँदा बैंकहरुको कर्जा जान सकिरहेको छैन ।
राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपको आकार ६७ खर्ब ४ अर्ब नाघ्दा यता कर्जा लगानी मुस्किलले ५४ खर्ब १३ अर्ब पुगेको छ ।
समीक्षा अवधिमा ७९.४५ प्रतिशत कर्जा/निक्षेप अनुपात (सीडी रेसियो) कामय गरेका बैंक तथा वित्तीय संस्थाहरुसँग लगानी गर्न मिल्ने ७ खर्बमाथिको तरलता रहेको छ । तर, लगानीको उपयुक्त ठाउँ नभेट्दा बैंकहरु समस्यामा छन् ।
यहीँ तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले पछिल्लो समय निक्षेप संकलन उपकरणको माध्यमबाट बैंकिङ प्रणालीबाट निरन्तर तरलता प्रशोचन गरिरहेको छ । यसै सिलसिलामा केन्द्रीय बैंकले मंगलबार थप ३० अर्ब रुपियाँ प्रशोचन गर्ने भएको छ ।
एक सूचना जारी गर्दै केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणका माध्यमबाट ३० अर्ब रुपियाँ तरलता प्रशोचन गर्न लागिएको जनाएको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आज दिउँसो २ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । दिउँसो २ बजेपछि बोलकबोल हुने निक्षेप संकलन उपकरणको आजै बिक्री हुने समेत बैंकले जनाएको छ ।
इच्छुक खरिद कर्ताले घटीमा १० करोड रुपियाँ र बढीमा ५ करोड रुपियाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।