बाढीले भवनमा क्षति पुर्याएपछि अल्लो प्रशोधन उद्योग संकटमा
रामेछाप, १५ माघ । जिल्लाको शैलुङस्थित दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवाको सल्लेटारमा रहेको शैलुङ अल्लो प्रशोधन उद्योग अहिले बन्द प्रायः अवस्थामा पुगेको छ । स्थानीय कच्चाबस्तु अल्लोको सदुपयोग गरी कपडा बनाउने उद्योगले हाल आएर सङ्कटको सामना गर्नुपरिरहेको छ । उद्योग अघि बढाउने कि बन्द गर्ने भन्ने अवस्थामा स्थानीय लगानीकर्ताहरू रहेका छन् ।
सीमान्तकृत थामी समुदायको बस्तीमा तिनै थामी समुदायको सामूहिक लगानीमा सञ्चालित शैलुङ अल्लो प्रशोधन उद्योगलाई उद्योग स्थापना गरेकै वर्ष विपत्ति आइलाग्यो । गत भदौ ८ गतेको भीषण वर्षाको कारण आएको बाढी पहिरोले उद्योगको भवनमा क्षति पुर्यायो । बल्ला बल्ल सुरु गरेको उद्योगमा सुरु गरेकै वर्ष क्षति पुगेपछि उद्योग सञ्चालकहरू अब कसरी अघि बढ्ने भन्ने अन्योलमा छन् ।
उद्योग स्रोतका अनुसार, अल्लो प्रशोधनको काम सुरु गरेको दुई वर्ष भएको भए पनि कम्पनी दर्ता गरेर उद्योग सुरु गरेको एक वर्ष भयो । स्थानीय शैलुङको जङ्गलमा पाइने सिस्नो जातको अल्लो सङ्कलन गरेर लोकताबाट धागो निकाली भाङ्ग्रो लगायत विभिन्न लुगा उत्पादन गर्ने सो उद्योगमा नसोचेको विपत्ति आइलागेको छ ।
उद्योगको भवनमा क्षति पुगेपछि गत भदौ महिनादेखि उद्योग सञ्चालनमा आउन सकेको छैन । भवन भित्र बसेर तानबाट लुगा बनाउने काम नभए पनि अल्लो सङ्कलन गर्ने र लोक्ता निकाल्ने काम भने भइरहेको उद्योगका अध्यक्ष भीमबहादुरले बताए ।
उत्पादन गरेको कपडाले माग धान्न नसकेको उनी बताउँछन् । कारखानाबाट भाङ्ग्रो, पटुका, गलबन्दी, पछ्यौरा, सल, गम्छा लगायतका कपडा उत्पादन हुने गरेको उनले बताए ।
वाग्मती प्रदेश सरकारले उपकरणलगायतको सहयोग गरेर सञ्चालनमा आएको उद्योगमा क्षति पुगेको ६ महिना बढी भयो । लगानी नै उठिनसकेको अवस्थामा भवनमा क्षति पुगेपछि अब उद्योग कसरी सञ्चालन गर्ने भन्ने चिन्ता छाएको छ ।
बाढी पहिरोले गाउँ नै क्षतविक्षत भएकोले गाउँलेहरू आफ्नो बस्ने बासकै व्यवस्थापनमा जुटे । त्यसैले उद्योगको लागि समय नै दिन भ्याएनन् । अब गाउँको अवस्था सामान्य बन्दै गएकोले उद्योग सञ्चालनको काममा आफूहरू जुटेको स्थानीयले बताए ।
सो उद्योगमा दैनिक १० जना बढीले रोजगारी पाएका थिए । यसका अतिरिक्त अल्लो सङ्कलन गर्ने, लोक्ता निकाल्ने, धागो बनाउनेले पनि आम्दानी गर्दै आइरहेका छन् ।
उद्योगलाई निरन्तरता दिने हो भने स्थानीयले रोजगारी पाउनुको साथै स्थानीय उत्पादनको प्रवर्धनमा समेत सहयोग पुग्ने देखिन्छ ।