अखिल क्रान्तिकारीको बाँकी मतगणना पेरिसडाँडामा गर्ने प्रस्ताव
काठमाडौँ, १५ माघ । निर्वाचन आयोगले माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको बाँकी मतगणना पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा गर्न प्रस्ताव गरेको छ ।
विश्वविद्यालय र विशेष प्रदेश समितिको मतपत्रमा निर्वाचन आयोगले तोकेको रातो मसीको सट्टा कालो मसीबाट पनि भोटिङ भएको खुलेपछि उत्पन्न विवादका कारण सोमबारदेखि नै मतगणना रोकिएको छ ।
बाँकी मतगणना सुरु गर्ने सम्बन्धमा निर्वाचन आयोगले आज अध्यक्षका चारै जना उम्मेदवारहरूसँग संयुक्त छलफल गर्दै लिखित धारणा मागेको छ ।
छलफलको क्रममा हेडक्वाटर (पार्टी अध्यक्ष ‘प्रचण्ड’) निकट मानिएका अध्यक्षका उम्मेदवार विजयप्रकाश सापकोटा बाहेकका उम्मेदवारहरूले सबैभन्दा पहिले कालो मसी प्रयोग भएका मतपत्र रद्द हुनुपर्ने र रातो मसीलाई मात्र मान्यता दिनुपर्ने अडान दोहोर्याएका थिए ।
अध्यक्षमा ‘प्रचण्ड’ निकट सापकोटासहित जनार्दन शर्मा निकट हेमन्त राई, वर्षमान पुन निकट सुदिन पौडेल र नारायणकाजी श्रेष्ठ निकट उपदेश यादव प्रतिस्पर्धामा छन् ।
नयाँ कार्यसमिति चयनका लागि माघ ११ गते वालमीकि विद्यापीठमा मतदान भएको थियो । सोही दिन रातिदेखि वालमीकि विद्यापीठमै मतगणना भइरहेको छ । विशेष प्रदेश र विश्वविद्यालय प्रदेशबाहेकको मतगणना सम्पन्न हुँदासम्म सापकोटा पहिलो, राई दोस्रो, यादव तेस्रो र पौडेल चौथो स्थानमा छन् ।