माधव नेपाल भन्छन्- प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको प्रणाली लागू भए अमेरिकाबाट नेपालीको भागाभाग हुन्छ
काठमाडौँ, १५ माघ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको प्रणाली नेपाजस्तो देशका लागि आवश्यक नभएको बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘मेरै धारणा फरक छ । प्रत्यक्ष निर्वाचित राष्ट्रपतिजस्तो घाँडो प्रणालीमा गयो भने के होला देशको हालत ?,’ उनको प्रश्न छ ।
साथै, उनले यो प्रणाली लागू हुँदा नेपालीहरू अमेरिकाबाट भागाभाग हुने पनि जिकिर गरे ।
‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा गयो भने अहिले नेपालीहरू अमेरिकाबाट भागाभाग हुन्छ । केही चाहिँदैन । कुनै पनि ठाउँ चाहिँदैन,’ अध्यक्ष नेपालले भने, ‘विभिन्न देशको राष्ट्रपति प्रणालीका समस्याहरू थाहा पाउनुभएको छैन भने एउटा गोष्ठी राख्नुस् । म सबै विवरण नै दिन्छु । म आफैँ त्यहाँ गएर सुनेको पनि छु, बुझेको पनि छु ।’
नेपालजस्तो संवेदनशील देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति उपयुक्त हो कि होइन बहस गर्नुपर्ने उनले बताए ।