नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र प्रभु इन्स्योरेन्सबीच सम्झौता
काठमाडौं, १६ माघ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडबीच समझदारी भएको छ । सुनचाँदी व्यवसायको प्रवर्द्धन र व्यवसायीहरूलाई आपत्कालीन जोखिमबाट सुरक्षा प्रदान गर्ने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
महासंघका तर्फबाट महासचिव निर बहादुर विश्वकर्मा र महासंघका कार्यालय प्रमुख राम महर्जन साथै प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट बजार विभाग प्रमुख समिर तामाङ र वित्त विभाग प्रमुख अरविन्द कुमार कर्णले समझदारी पत्रमा हस्ताक्षर गरे ।
उक्ता कार्यक्रममा प्रभु इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र मल्ल, प्रमुख कार्यकारी अधिकृत सन्चित बज्रचार्य र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका किसान सुनारको समेत उपस्थिति थियो। समझदारी अनुसार, प्रभु इन्स्योरेन्सले सुनचाँदी व्यवसायीहरूका लागि विशेष बीमा योजना र सेवाहरू प्रदान गर्नेछ ।
यसले आगलागी, चोरी, प्राकृतिक प्रकोप लगायतका अनपेक्षित घटनाबाट हुने आर्थिक क्षतिलाई न्यून गर्न मद्दत पुर्याउनेछ । साथै, महासंघले व्यवसायीहरुबीच बीमाको महत्वबारे जनचेतना अभिवृद्धि गर्न र व्यवसायको दिगोपनालाई प्रवर्द्धन गर्न प्रभु इन्स्योरेन्ससँग सहकार्य गर्नेछ ।
कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष किसान सुनारले भने, “यस समझदारीले सुनचाँदी व्यवसायीहरूको जोखिम व्यवस्थापनमा नयाँ सम्भावना खोल्नेछ । बीमाको माध्यमबाट व्यवसायीहरू थप सुरक्षित महसुस गर्नेछन् र व्यवसाय विस्तारमा आत्मविश्वासका साथ अघि बढ्नेछन्।” त्यस्तै, प्रभु इन्स्योरेन्सका अध्यक्ष श्री राजेन्द्र मल्लले भने, “हामीले विशेष रूपमा डिजाइन गरिएको बीमा सेवा प्रदान गरेर सुनचाँदी व्यवसायको दिगो विकासमा सहयोग गर्न पाउँदा गर्व महसुस गरेका छौं।”
यस समझदारीपत्रले सुनचाँदी व्यवसायीहरूको आर्थिक सुरक्षामा सुदृढता ल्याउने र सम्भावित जोखिम व्यवस्थापनका लागि ठोस कदम चाल्ने दिशामा दुवै संस्थाबीच सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ ।
समझदारीको उद्देश्य सुनचाँदी क्षेत्रको आर्थिक विकासलाई गति दिनुका साथै जोखिम व्यवस्थापनलाई व्यवस्थित बनाउनु हो । यो पहलले व्यवसायीहरूमाझ बीमाको पहुँच वृद्धि गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ ।
प्रभु इन्स्योरेन्स र महासंघले भविष्यमा पनि थप सेवा तथा कार्यक्रमहरू मार्फत व्यवसायीहरूको हितका लागि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।