साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग
काठमाडौं, १७ माघ । लुम्बिनी विकास बैंक लिमिटेडले साहारा फुटबल एकेडेमीमा आश्रित विद्यार्थीलाई दुई लाख ४५ हजार सहयोग हस्तान्तरण गरेको छ।
कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्य रामचन्द्र सिग्देल र अर्जुन थापा संयुक्तरूपमा साहारा फुटबल एकेडेमीका अध्यक्ष केशवराज बराललाई सहयोग रकमको चेक हस्तान्तरण गरे।
सञ्चालक थापाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्त पोखरा-१७ दोबिल्लामा सञ्चालित एकेडेमीको समुन्नतिका लागि साहारा फुटबल एकेडेमीमा आश्रित विद्यार्थी बालबालिकालाई सहयोग उपलब्ध गराएको बताए। साथै एकेडेमीले खेलकुदको उन्नतिको लागि निकै राम्रो र प्रशंसनीय कार्य गर्दै आएकोमा प्रशंसा गरे।
लुम्बिनी विकास बैंकले प्रदान गरेको आर्थिक सहयोगका लागि आभार प्रकट गर्दै साहारा क्लबका अध्यक्ष बरालले सहयोग रकम एकेडेमीमा आश्रित बालबालिकाको खाजा र खानाका लागि खर्च गर्ने बताए ।
कार्यक्रममा बैंकका पोखरास्थित शाखाका प्रबन्धक, क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ , उपाध्यक्ष चित्रबहादुर पुन, कोषाध्यक्ष विनु राना मगर, सहकोषाध्यक्ष अशोक लालचन, पूर्व सहकोषाध्यक्ष लिलबहादुर थापा, पूर्व अध्यक्ष विक्रम थकाली र सल्लाहकार सुनिल गुरुङ लगायतको उपस्थिति थियो।