एनसेल र क्यानबीच ‘महिला टी– २० आई त्रिकोणात्मक सिरिज’का लागि सहकार्य
काठमाडौं, १८ माघ । युवा तथा खेलकुदसँगको आफ्नो अटुट सम्बन्धलाई निरन्तरता दिँदै, एनसेलले ‘महिला टी– २० आई त्रिकोणात्मक सिरिज’का लागि सहकार्य गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) सँगको यस सहकार्यअन्तर्गत, यो खेलले नेपाली क्रिकेटप्रेमीहरूलाई ऊर्जा प्रदान गर्दै क्रिकेटमा महिला प्रतिभाको विकासमा योगदान पुऱ्याउने विश्वास गरिएको छ ।
यो सहकार्य एनसेलको ‘हामी तपाईंकै लागि’ थिम र नेपालमा क्रिकेट तथा खेलकुदको विकासलाई सहयोग गर्ने प्रतिबद्धतामा आधारित छ । यो सिरिजअन्तर्गतको खेल आज बिहीबारदेखि त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा सुरु भएको छ । नेपाली महिला क्रिकेट टोलीलाई यस सिरिजमा समर्थन गर्न आह्वान गर्दै क्यानले सम्पूर्ण खेलहरूको प्रवेश निःशुल्क बनाएको छ ।
सिरिजमा सहभागी टिमहरूले एकअर्कासँग तीनपटक प्रतिस्पर्धा गर्नेछन् । आजको पहिलो खेलमा आयोजक टिम नेपालले नेदरल्यान्ड्सविरुद्ध प्रतिस्पर्धा गर्यो । अन्य खेलहरूमा, नेपालले १९ माघमा थाइल्यान्डविरुद्ध, २० माघमा नेदरल्यान्ड्सविरुद्ध, २२ माघमा थाइल्यान्डविरुद्ध, २३ माघमा नेदरल्यान्ड्सविरुद्ध र २५ माघमा फेरि थाइल्यान्डविरुद्ध खेल्नेछ ।
नेपाली टिम यो सिरिजमा इन्दु बर्माको कप्तानीमा खेल्दै छ । कप्तान इन्दुसँगै टिममा पूर्वकप्तान रुबिना क्षेत्री, सीता रानामगर, पूजा महतो, अलिशाकुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, कविता कुँवर, ममता चौधरी, कविता जोशी, रेवती धामी, रोमा थापा, राजमति ऐरी, मनिषा उपाध्याय र ईश्वरी विष्ट समावेश छन् ।
एनसेलले आफ्नो स्थापनाकालदेखि नै एक जिम्मेवार कर्पोरेट नागरिकको रूपमा, नेपालमा खेलकुद र प्रतिभा विकासमा महत्वपूर्ण योगदान गर्दै आएको छ । उदाहरणका लागि एनसेलले यो वर्षको नेपाल प्रिमियर लिगमा पावर्ड बाई पार्टनरको रूपमा आबद्ध भएको थियो । कम्पनीले क्रिकेट, फुटबल, भलिबल, गल्फ तथा नेपालका पारा–खेलाडीहरूलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाउन सहयोग प्रदान गर्दै आएको छ ।
यसैगरी, एनसेलले पाँचौँ टाइगर कप, त्रिकोणात्मक टी– २० आई सिरिज २०२४, आईसीसी लिग २ र नेपाल–क्यानडा एकदिवसीय सिरिजलाई पनि सहयोग गरेको थियो । एनसेलले बिर्तामोड गोल्ड कप र झापा गोल्ड कप लगायतका विभिन्न फुटबल प्रतियोगिताहरूलाई पनि सहयोग प्रदान गरेको थियो ।
एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत, राष्ट्रिय प्यारालिम्पिक समिति (एनपीसी) नेपालसँग सहकार्य गर्दै राष्ट्रिय पारा खेलाडीहरूलाई सहयोग र समर्थन गर्दै आएको छ । गत भदौमा पारा–ताइक्वान्डो खेलाडी पलेशा गोवर्धनले पेरिस प्यारालिम्पिक्स २०२४ मा ऐतिहासिक जित हासिल गरेपछि, एनसेल फाउन्डेसनले उनलाई १० लाख रुपैयाँ पुरस्कारबाट सम्मान गरेको थियो । र, अन्य प्यारालिम्पिक टोलीका सदस्यहरूलाई पनि एनसेल फाउन्डेसनले नगद पुरस्कारसहित सम्मान गरेको थियो ।