‘मिल्क होलिडे’ हुनबाट रोक्दै चितवनका दुग्ध उद्योग, दैनिक ८० हजार लिटर प्रशोधन
चितवन, १८ माघ । चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरास्थित चितवन मिल्क उद्योग छ । यहाँ शुक्रबार बिहान पनि दूध बोकेका ट्याङ्करको लामो लाइन लागेको थियो । सहकारी र निजी डेरी फार्महरूले सङ्कलन गरेको दूध बजारमा खपत हुन नसकेपछि ती ट्याङ्करहरू उद्योगमा दूध बोकेर आएका थिए । बजारमा दूध खपत नभएपछि प्रशोधन गरेर धुलो बनाउन ती ट्याङ्कर यहाँ आएका हुन् ।
नेपाल डेरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजकुमार दाहाल यसरी आएको दूध उक्त उद्योगले प्रशोधन नगरेको भए दूध फाल्नुको विकल्प नहुने बताउँछन् । उनले भने, 'चितवन मिल्क नभएको भए तपाईंले आज बिहान देखेको ट्याङ्करको दूध खोलामा फाल्नुको विकल्प थिएन ।'
केही वर्षअघिसम्म दूध धेरै उत्पादन हुने समयमा मिल्क होलिडे गर्ने गरिएको थियो । अध्यक्ष दाहालका अनुसार पछिल्लो आँकडाअनुसार नेपालमा दैनिक ७५ लाख लिटर दूध उत्पादन हुने गर्दछ । त्यसमध्ये आधा दूध घर र बाँकी व्यावसायिक प्रयोजनमा प्रगोग हुने गरेको छ । व्यावसायिक प्रयोजनमा प्रयोग हुनेमध्ये ३३ प्रतिशत दुग्ध विकास संस्थानसहित व्यावसायिक उद्योगहरूमा प्रशोधन गरेर बजारमा पठाइन्छ भने बाँकी स्थानीय डेरी पसलले प्रशोधन नगरी बजारमा पठाउने गरेका छन् ।
वैशाखदेखि असोजसम्म दूधको उत्पादन कम हुने गर्दछ । यो समयमा अरू बेलाको तुलनामा ४० प्रतिशतसम्म दूध कम हुने आँकडा छ । बढी उत्पादन भएको बेला दूधलाई प्रशोधन गरेर पाउडर र बटर बनाउने गरिन्छ ।
नेपालमा चितवन मिल्कसहित पोखराको सुजल, भक्तपुरको शिवपुरी, विराटनगरको सूर्योदय र सगरमाथासँगै बागमती प्रदेशको हेटौँडा डेरीले दूधको धुलो बनाउने गरेका छन् । क्षमताको हिसाबले चितवन मिल्कले सबैभन्दा बढी प्रशोधन गर्ने गरेको नेपाल डेरी उद्योग सङ्घले जनाएको छ ।