संसद्को साँचो सरकारले नै बोक्दो रहेछ: सीके राउत
काठमाडौं, १८ माघ । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले संसद्को साँचो सरकारले बोकिरहेको बताएका छन् ।
प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष राउतले संसद् सञ्चालनको साँचो सरकारले बोक्ने गरेको बताएका हुन् ।
साँचो सरकारले नै बोक्ने हुँदा संसद् सुरु हुन ढिलाइ हुने गरेको उनको भनाइ छ । 'संसद् किन खुलिरहेको छैन भनेर सोच्दा । हामी त शक्ति पृथकीकरण भन्छौँ । व्यवस्थापिका छुट्टै, कार्यपालिका छुट्टै, न्यायपालिका छुट्टै स्वतन्त्र रूपले चल्न सक्ने भनेर मान्छौँ । तर यहाँ हुँदा के रहेछ भने संसदको पनि साँचो कतै न कतै सरकारले नै बोक्दो रहेछ,' उनले भने ।
सरकारले अधिवेशन नबोलाउँदासम्म संसद पनि सुचारु नहुने खालको व्यवस्था वा संवैधानिक प्रावधान रहेको पनि अध्यक्ष राउतको भनाइ छ । 'सरकारले नै संसद्को पनि साँचो राखिदिएपछि र संसद् पनि सरकारले चलाएपछि बल्ल चल्ने नचलाए नचल्ने, कुनै पार्टीको आफ्नो कामर्यक्रम भए नचल्ने, शीर्ष नेतालाई हाच्छ्युँ आइदिँदा संसद नै रोक्नुपर्ने यस्तो हो भने पुनःविचार गर्नुपर्छ,' उनले भने ।
अध्यक्ष राउतले सरकारको फोन कुरेर न्यायालयले फैसला गर्ने गरेको आरोपसमेत लगाए ।