प्रभु साहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा

प्रभु साहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा

जनकपुरधाम,  २० माघ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा दायर भएको छ । 

प्रतिनिधिसभा सदस्य समेत रहेका साहले केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा ‘रौतहट जिल्ला अदालतका झोले न्यायाधीश’ भनेर पोष्ट राखेका थिए । अदालतको अपमान गरेको भन्दै सांसद साहविरुद्ध बौधिमाई नगरपालिकाका मेयर प्रदिपकुमार यादवले गत शुक्रबार मुद्दा दर्ता गराएका हुन् ।

रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद साहले आफ्ना फेसबुक आइडीबाट ‘न्यायाधीश नेताका झोले कार्यकर्ता’ भनेर टिप्पणी गरेका थिए ।

आजपा अध्यक्ष साह र महासचिव त्रिभुवन साह उपर मुद्दा दर्ता भएको हो । अदालत परिसरमा ज्यान मार्ने धम्की दिएको अभियोग पनि साहमाथि छ । 

बाटो खाली गराउने क्रममा नगर प्रमुख यादवमाथि आक्रमण तथा अभद्र व्यवहार गर्ने गंगाराम बैठालाई पुर्पक्षका लागि थुना पठाउने आदेश अदालतले दिएको थियो ।

आदेश आउनुअघि नै महासचिव साहले आफूलाई आदालत परिसरमै ज्यान मार्ने धम्की दिएको नगर प्रमुखले यादवको दाबी छ ।

उक्त मुद्दामा आज सुनुवाइ हुँदैछ ।