न्याय माग्दै स्वर्गद्वारी गुठी पीडित किसानद्वारा माइतीघरमा धर्ना

न्याय माग्दै स्वर्गद्वारी गुठी पीडित किसानद्वारा माइतीघरमा धर्ना

काठमाडौँ, २० माघ ।  स्वर्गद्वारी गुठीपीडित संघर्ष समितिले विभिन्न माग राखी आजदेखि माइतीघर मण्डलामा अनिश्चितकालिन रिलेअनसन तथा धर्ना कार्यक्रम सुरु गरेको छ।

दाङको लमही, घोराही, तुलसीपुरबाट आएका उनीहरूले दिनभर बसेर धर्ना दिने कार्यक्रम रहेको संघर्ष समितिका सहसचिव प्रविन दहितले जानकारी दिए।

दाङबाट आएका उनीहरू काठमाडौँको गौशालास्थित पशुपति धर्मशालामा बसेका छन्।

आज बिहान धर्मशालाबाट ब्यानर, प्लेकार्ड, हलो, कोदालो, ढाकीसहितको र्‍याली गौशाला, रातोपुलकरिडोर हुँदै सेतोपुल, बिजुलीबजार हुँदै माइतीघर मण्डला पुगेर धर्नामा बसेको हो। 

कानुनी जटिलताका कारण नेपालको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गुठी स्वर्गद्वारी आश्रमको जग्गामा द्वैध स्वामित्व कायम छ ।

सर्वोच्च अदालतले स्वर्गद्वारी गुठी विशेष प्रकृतिको निजी गुठी भएका कारण आश्रमको जग्गा खण्डीकरण गर्न नमिल्ने आदेश गरेको छ ।

मोही किसान भने मोहीपूर्जाको प्रमाण बोकेर न्याय मागिरहेका छन् ।