शिखर इन्स्योरेन्सले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने
काठमाडौं, २० माघ । शिखर इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ। माघ १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले २०८०/८१ को सञ्चित मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको जनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ४९ लाख रहेको छ ।
नियामक निकाय बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो लाभांश लगानीकर्तामा वितरण हुने छ ।