विचार र दृष्टिकोण नभएकाले समाज बनाउन सक्दैनन् : प्रदीप ज्ञवाली
रामेछाप,२० माघ । सत्तारुढ नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपालमा अधिकार प्राप्तिको लडाइँ सकिएकोले अबको लडाइँ आर्थिक समृद्धिको भएको बताएका छन् । आइतबार नेकपा एमाले रामेछापले आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै ज्ञवालीले अधिकारको लडाई लडेका नेपाली राजनीतिक दल अब समृद्धिको बाटोमा अघि बढ्नु पर्ने बताए ।
‘यसको लागि हामीले नयाँ सोच आवश्यक छ, अब हामीलाई समृद्धिको स्किल आवश्यक छ’, उनले भने । दृष्टिकोण सही हुँदा मात्र सही दिशामा अघि बढ्न सकिने ज्ञवालीले बताए । अहिले विचार र दृष्टिकोण नभएकाहरू समाज बनाउँछौं भनेर आएका भन्दै ज्ञवालीले दर्शन र दृष्टिकोण नभएकाले समाज परिवर्तन गर्न नसक्ने बताए । ‘के चाहिँ राम्रो हो भन्ने कुरा थाहा पाउन पनि दृष्टिकोण चाहिन्छ, दृष्टिकोण नै नभए पछि राम्रो नराम्रो छुट्याउन सकिँदैन, सही र गलत छुट्याउन नसक्नेले कसरी समाज परिवर्तन गर्न सक्छ ?’, उनले भने ।
अहिले सामाजिक सञ्जालमार्फत सूचना भन्दाबढी मिस इन्फरमेसन र डिस इन्फरमेशन आइरहेका बताउँदै ज्ञवालीले यसले समाजलाई नै दिग्भ्रमित गराउने काम गरेको बताए । ‘धेरै मानिसहरू भ्रामक समाचारबाट प्रभावित भएका छन्, यसबाट जोगिन हरेक विषयको गहन अध्ययन आवश्यक छ, अहिले पढ्ने बानी एकदमै कमजोर भएर गएको छ’, ज्ञवालीले भने । विचार कमजोर हुँदा व्यक्ति र समाज जता हावा चल्यो त्यतै लाग्ने उनले बताए । यस्ता समस्याको समाधान वैचारिक रूपमा स्पष्ट हुन आवश्यक रहेको ज्ञवालीको भनाइ छ ।
२० वर्षयता विश्वमा धेरै परिवर्तन भएको बताउँदै ज्ञवालीले परिवर्तनको गतिसँग अघि बढ्न सक्नु पर्ने बताए । यसो गर्न नसके नेपाल र नेपाली धेरै पछि पर्ने उनले बताए । ‘हामीले आफूलाई अपटेड गरेनौं भने ह्याङ हुन्छौँ, समाज बुझेनौँ भने समाजका समस्या बुझ्दैनौँ र समाज परिवर्तन गर्न सक्दैनौँ’, उनले भने । नेकपा एमालेमा विभिन्न पार्टी र विचार बोकेका नेता–कार्यकर्ता आएका बताउँदै ज्ञवालीले त्यसैले नेकपा एमाले एकीकृत माक्र्सवादी लेनिनवादी भएको बताए । एमालेमा आएपछि भने सबैको बुझाइमा एकरूपता आवश्यक रहेको उनले स्पष्ट पारे । त्यसको लागि पार्टीले निरन्तर प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको ज्ञवालीले जानकारी दिए ।