जलेश्वर कारागारका कैदीको मृत्यु
जनकपुरधाम, २० माघ । महोत्तरीको जलेश्वर कारागारका एक कैदीको मृत्यु भएको छ । धनुषाको बटेश्वर गाउँपालिका–१ कार्तिकुमरका ५६ वर्षीय जोगेन्द्र महराको मृत्यु भएको हो ।
अचानक बेस्सरी पेट दुखेपछि उनलाई मध्यराति प्रादेशिक अस्पताल जलेश्वरमा भर्ना गरिएको थियो । उपचारको क्रममा शनिबार राति २ः३० बजेतिर उनको मृत्यु भएको कारागार प्रशासन प्रमुख अशोक क्षेत्रीले जानकारी दिएका छन् । उनका अनुसार महरा पहिलेदेखि नै औषधि सेवनको प्रयास गरिरहेका थिए ।
२०३८ सालमा गाउँकै खेतमा भएको आगजनी घटनामा दोषी ठहर गर्दै उनलाई जिल्ला अदालत धनुषाले कैद सजाय सुनाएको थियो । त्यसबेलादेखि फरारका लिस्टमा रहेका उनलाई दुई वर्षअघि प्रहरीले पक्राउ गरी कैद भुक्तानका लागि कारागार चलान गरेको थियो ।