आईएमई ग्रुपको लगानीमा बागलुङमा 'इला कम्फोर्ट' होटल
काठमाडौं, २० माघ । आइएमई ग्रुपको लगानीमा बागलुङ बजारमा इला कम्फर्ट लक्जरी होटल सञ्चालनमा आएको छ ।
बागलुङमै सञ्चालनमा आएको इला कम्फर्ट होटलमा कालीगण्डकी कोरिडोर तथा मध्य पहाडी लोकमार्ग हुँदै गण्डकी क्षेत्र तथा बागलुङका पर्यटकीय स्थल भ्रमण गर्ने पर्यटक तथा अन्य पाहुनाका लागि गुणस्तरीय सेवा सुविधा उपलब्ध हुनेछ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले शनिबार बागलुङमा आयोजित समारोहमा इला कम्फर्ट होटलको सेवा सञ्चालनको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले आइएमई ग्रुपले पर्यटन पूर्वाधारका क्षेत्रमा गरेको लगानीले मुलुककै पर्यटन उद्योगमा सकारात्मक प्रभाव पारेको बताए ।
कार्यक्रममा गण्डकी प्रदेशका मन्त्री कृष्ण पाठकले आइएमई ग्रुपले मुलुकभर पर्यटन पूर्वाधार विकासमा गरेको लगानीको चर्चा गर्दै गण्डकी प्रदेशमा थप लगानीका लागि आह्वान गरे । आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङमा सञ्चालनमा ल्याएको यो होटलले यस क्षेत्रको पर्यटन विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले मुलुकभित्र लगानी र रोजगारीको वातावरण नहुँदा विदेसिन बाध्य भएका लाखौँ नेपालीको भावनालाई समेटेर आफूले मुलुकका सातवटै प्रदेशमा होटल तथा केवलकारसहितका पर्यटकीय पूर्वाधारमा लगानी केन्द्रित गरेको बताए ।
कार्यक्रममा संघीय सांसदहरू दीपक गिरी, जीवन परियार, बागलुङ नगरपालिकाका मेयर बसन्त श्रेष्ठ र बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले बागलुङमा होटल सञ्चालनले यहाँको पर्यटन पूर्वाधारमा टेवा पुगेको बताउँदै थप लगानीका लागि आह्वान गरेका थिए ।
करिब ३० करोड रुपैयाँको लगानीमा निर्माण गरिएको यो होटलले बागलुङमा स्तरीय आवासका लागि नयाँ मानक स्थापित गर्ने विश्वास लिइएको छ । लगभग ४ रोपनी जग्गामा फैलिएको, इला कम्फर्ट बागलुङमा २७ अतिथि कक्ष, दुई सुन्दर सुइट र एक विशेष पेन्ट हाउससहित ३० वटा आकर्षक ढंगले डिजाइन गरिएका कोठा छन् ।
इला होटल तथा रिसोर्टका प्रमुख सचिन ढकालले इला होटल्स एन्ड रिसोर्ट केवल नयाँ आतिथ्य ब्रान्ड मात्र नभएर यसले बागलुङ बसाइलाई अविस्मरणीय अनुभवमा रूपान्तरण गर्ने बताएका छन् ।
इला कम्फर्ट बागलुङले ब्रान्डको इला ब्राण्डको होटल विस्तार रणनीतिको पहिलो चरणको प्रतिनिधित्व गरेको छ । नवलपरासीको गैँडाकोटमामा इला होटल सुरु गर्ने तयारी भइरहेको छ भने नेपालका सबै सातै प्रदेशमा सेवा विस्तार गर्ने योजना छ ।