ट्राफिक नियम उल्लंघनमा चालक मात्र होइन, यात्रुहरू पनि उत्तिकै दोषी छन् : प्रहरी वरिष्ठ उपरीक्षक घिमिरे

ट्राफिक नियम उल्लंघनमा चालक मात्र होइन, यात्रुहरू पनि उत्तिकै दोषी छन् : प्रहरी वरिष्ठ उपरीक्षक घिमिरे

काठमाडौं, २० माघ । पछिल्लो समय मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउनेको संख्या कम हुँदै गएको छ ।

लामो समयदेखि प्रयास र प्रभावकारी कार्यक्रमका कारण केही हदसम्म घटना न्यूनीकरणमा सफल भएका छौं । विगतमा जुन किसिमको रेसियोमा मापसे थियो अहिले धेरै कम भएको तथ्यांकले नै देखाउँछ ।

चेकजाँचमा ल्याइएको केही परिवर्तनले परिणाममा सहयोग पुर्याएको छ । एउटै सेड्युलमा नगरेर परिवर्तन गर्दा परिणाम पनि राम्रो  आएको छ ।

जस्तै शनिबार र बिदाको दिन दिउँसो पिकनिकहरुमा गएर दिउँसै मापसे गरेर गर्ने चलन थियो । अहिले भने त्यो क्रम कम भएको छ । रातको समयमा पनि विशेष गरेर ७ देखि ८ बजेको समयमा चेकजाँचको सेड्युल सुरु गरिरहेका हुन्छौं । त्यस कारण केही न्यूनीकरण भएको हो ।

मापसेको कारणले सवारी दुर्घटना हुनेहरुको संख्या गत २०७९/८० मा चाँही ६४९ वटा थिए भने त्यसमा १० जनाको मृत्यु भएको थियो । ४८ जना गम्भीर घाइते भएका थिए । ६२३ जना सामान्य घाइते भएका थिए ।

यता २०८०/८१ मा ६५० वटा चाँही मापसेको कारण दुर्घटना भएर १२ जनाको मृत्यु भएको थियो । ५१ जना गम्भीर घाइते हुनुभएको थियो । जुन अहिले २०८१/८२ को साउनदेखि अहिलेसम्म गर्दा ३१६ वटा दुर्घटना भएको छ ।

जसमा १६ जनाले ज्यान गुमाएका छन् । १७ जना गम्भीर घाइते हुनुभएको छ । ३८ जना सामान्य घाइते हुनुभएको छ । यस हिसाबले केही न्यूनीकरण भएको हो कि जस्तो लाग्छ ।

ट्राफिक प्रहरी कसैको दुश्मन होइन सहयात्री हो भन्ने बुझ्नुपर्छ । यात्रुको सुरक्षा मात्र हाम्रो स्वार्थ हो । छिटो पुग्नुहोस भन्ने मात्र होइन सुरक्षित पुग्नुहोस भन्ने हाम्रो अभियान हो ।

मापसेलाई अलग्गै कारवाहीको व्यवस्था छैन् । तर अहिलेसम्म आर्थिक वर्षमा २० करोड ८५ लाख बराबरको कारवाही रकम उठाइसकेका छौं । ३ लाख २० हजार २२९ ट्राफिक उल्लंघनका घटनाहरुमा २० करोड ८५ लाख ६० हजार कारवाहीमा परेर नै राजश्व जम्मा गरेका छौं ।

नियन्त्रण गर्ने भनेको सबैभन्दा ठूलो कुरो आफूले पनि सबै कुरामा संस्कार बसाल्नुपर्छ । ट्राफिकको डरले मात्र कम गर्न सम्भव छैन । तर पनि कम गर्नको लागि ट्राफिक नियमको प्रचार प्रसार बढी गरिरहेका छौं । विगतमा मापसे चेकिङ गल्लीहरुमा गरेका थियौं । त्यतिबेला ट्राफिक प्रहरीप्रति नकारात्मक कुराहरु धेरै नै आए । तर अहिले भित्र भन्दापनि मुख्य सडकमै फोकस गरेका छौं । मुख्य सडकहरुमा दुर्घटना नहोस् भन्ने हिसाबले अहिले ट्राफिक चेकजाँच गरिरहेका छौं ।

अहिले दैनिक एकसय प्लस जना मापसे कारवाहीमा पर्ने गरेका छन् । कारवाहीमा परेकाहरुलाई जनचेतनामूलक कक्षाहरु सञ्चालन गरेका छौं । विभिन्न अन्तरक्रिया गरेर एउटा संस्कार बसोस भनेर काम गर्दा धेरै प्रगति समेत भएको छ । मापसे गरेर सवारी चलाउनेको संख्या कम भएका छन् । कसैले मापसे गरेको छ भने साथीलाई ड्राभिङ गर्न लगाएर आफू पछाडि बस्ने संस्कार पैदा भएको छ ।

अहिले दैनिक एकसय प्लस जना मापसे कारवाहीमा पर्ने गरेका छन् । कारवाहीमा परेकाहरुलाई जनचेतनामूलक कक्षाहरु सञ्चालन गरेका छौं ।

अहिले हामीले चेकजाँचहरु बढाउने र जनचेतनाहरु अभिवृद्धि गर्ने कामलाई बढी प्राथमिकता दिएका छौं । मापसे बाहेक अन्य कारणले दैनिक दुई हजार प्लस कारवाहीमा परिरहेका छन् । अहिले बिदाको दिन १५ सयदेखि दुई हजार प्लस हुन्छ भने अन्य दिन दुई हजारदेखि २५ सय तीन हजारको हाराहारीमा कारवाहीहरु भएको देखिन्छ । अहिले विशेष गरेर यो महिनादेखि बढि फोकस ‘नो हर्न’ लाई लिएका छौं । गलत प्रवृत्ति छ हर्न बजाउने । यसलाई सबैले तुरुन्तै छोड्नुपर्छ ।

यसमा पनि बढी कारवाही भइरहेको छ । ट्राफिक लेनहरुका सवालमा हाम्रै कन्ट्रोल रुमबाट हेरेर कुन सवारी साधनले ट्राफिक नियम उल्लघंन गरेको छ, रातो बत्तीमा गएको छ कि, पिक एन ड्रप गलत ठाउँमा गरको छ की, ढोकाहरु खुल्ला छ की भनेर पनि मनिटरिङ गरेर कारवाही गरिरहेका छौं ।

अहिले काठमाडौं उपत्यकामा एएन पिआर अटोमेटिक नंम्बर प्लेट, स्पिड जस्ता कुराहरु कार्यालयबाटै हेरिरहेका हुन्छौं । काठमाडौं उपत्यकामा ५५ भन्दा बढी स्पिड ठिक होइन । त्यसैले यी कुराहरुमा पनि हामी काम गरिरहेका छौं ।

स्पिड बढीकै कारण महिनामा २० जनाको मृत्यु हुने गरेको देखिन्छ । यसमा पनि दुईपांग्रे सवारी साधनबाट बढीको मृत्यु भइरहेको देखिन्छ । साथै पछाडी बस्ने र पैदल यात्रीहरुको मृत्यु हुने गरेको छ । पुस महिनामै २० जनाले मृत्युवरण गर्नु भएको छ ।

माघको १ देखि १८ गतेसम्म दुई जनाको मृत्यु भएको छ । मृत्युहरु स्पिड, रातिको समयमा वा ट्राफिक नभएको समयमा सवारीमा ठोक्किएरलगायत भएर भएका छन् । दिनमा सवारी चाप बढी भएको कारणले पनि प्रायजसो दुईपांग्रे सवारी साधनहरुको स्पिड बढी देखिन्छ । त्यस्तै सार्वजनिक यातायातहरु पनि सबैभन्दा बढी स्पिडकै कारणले कारवाहीमा परेका छन् ।

यतिमात्र होइन लेनको कुरा पनि छ । हामीले विशेष रुपमा दुई पाङ्ग्रेहरुको लागि एउटा अभियान सुरु गरेका छौ । दुई पाङ्ग्रेहरुको लागि दुई मिनेट भनेर चालकको समय लिएर कुरा गर्ने गरेका छौं । यसबाट हामीले घटनाको विवरण पनि लिन्छौ र यसमा मोबाइलको प्रयोग, मापसे, ओभरटेक गरेर हाँक्ने र हेलमेट नलगाएको कारण बढी दुर्घटना हुने कुराहरु प्राप्त भएको छ ।

यही कुराहरुलाई ध्यानमा राखेर सजक गराउन अभियानमा लागेका छौ । तर चालकहरु आफैंले यस्तो संस्कार नबसाएसम्म पूर्ण रुपमा कम हुन सक्दैन ।

अहिलेको अवस्थामा सवारी चालकहरुलाई मात्र दोष दिएर हुँदैन् । अहिले सबैभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने पैदल यात्रीहरु हुन्छन् । पैदल यात्रुहरुलाई पनि विशेष ध्यान दिनुपर्ने अवस्था छ । उहाँहरुले क्षती भयो भने त आफूलाई नै हो कारबाहीको कुरा पछि हुन्छ भन्ने कुरा बुझ्नुपर्छ ।

हामीले विशेष भीड हुने चोकहरुमा सामुदायिक प्रहरीको सहयोगमा पैदल यात्रीहरुलाई बाटो काट्ने तरिका सिकाउने वा सम्झाउने कामहरु पनि गरिरहेका छौ । अहिलेको समयमा पनि यसरी सम्झाउन पर्नु भनेको त्यति सुहाउँदो होइन । त्यसकारण आफैले बुझेर गर्नुपर्छ ।