सहकारी ठगी प्रकरण: एमाले नेता थापा पक्राउ, डेढ अर्ब हिनामिनाको आरोप

सहकारी ठगी प्रकरण: एमाले नेता थापा पक्राउ, डेढ अर्ब हिनामिनाको आरोप

काठमाडौं, २० माघ । सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा म्याग्दीका जिल्ला समन्वय समिति (जिसस) प्रमुख राजकुमार थापा पक्राउ परेका छन् । उनीसहितको समूहमाथि म्याग्दीको बेनीस्थित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको डेढ अर्ब नगद हिनामिना गरेको आरोप छ । उनी नेकपा (एमाले) का नेता हुन् ।

उक्त सहकारी ठगीको सम्बन्धमा गत जेठमा उजुरी परेको थियो । सो सहकारी अपचलन सम्बन्धमा सहकारी रजिस्ट्रारको कार्यालय, गण्डकीले छानविन गरेको थियो । उक्त छानविन प्रतिवेदनले थापा नेतृत्वको समितिले सर्वसाधरणको बचत अपचलन गरेको निष्कर्ष निकालेको थियो । प्रतिवेदनमा थापालाई सहकारी ठगीको मुख्य योजनाकार उल्लेख गरिएको छ ।

थापासहितको टिमले सहकारीको रकम अपचलन गरी ढुकुटी खेलाउने, निजी स्कुल र घरजग्गामा लगाउनेजस्ता कार्यमा प्रयोग गरेको प्रतिवेदनमा उल्लेख छ । सहकारीका वर्तमान अध्यक्ष यमबहादुर रोकाले आर्थिक हिसाबकिताब छानबिन गरिदिन माग गर्दै ०८१ जेठ सहकारी रजिस्ट्रारको कार्यालयमा निवेदन दिएर थिए । उक्त सहकारीमा थापा दुई कार्यकाल सचिव र ०७९ मा जिसस प्रमुख निर्वाचित हुनुअघिसम्म उपाध्यक्ष थिए ।

एमाले नेता थापा बेनी बजारमा रहेको बुद्ध एकेडेमीका सञ्चालकसमेत हुन् । उनले कुमारी सहकारीबाट उक्त विद्यालमा विना धितो १६ करोड रुपैयाँ लगेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, थापालगायतको समूहरुले विना धितो सहकारीबाट पैसा लिएर जग्गामा लगानी गरेको   पाइएको छ ।