शेयर बजारमा हरियाली, झण्डै १३ अर्बको कारोबार

शेयर बजारमा हरियाली, झण्डै १३ अर्बको कारोबार

काठमाडौं, २० माघ । साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजारमा उच्च अंकको वृद्धिसँगै हरियाली छाएको छ  । 

६९.८० अंक (२.६२ प्रतिशत)  वृद्धिपछि नेप्से परिसूचक २७२७ मा कायम भएको छ । बजारको यो अंक पछिल्लो दुई महिना (मंसिर २०) यताकै उच्च हो ।

साथै कारोबार रकम पनि उच्च देखिएको छ । गत साता बजार बन्द हुँदाको दिन ९ अर्ब ४० करोडको कारोबार भएकोमा आज १२ अर्ब ९५ करोडको भयो । आज कारोबार खुलेदेखि नै बजार निरन्तर उकालो लाग्यो । २०२ कम्पनीको मूल्य बढ्दा ३७ को घट्यो भने ३  को    स्थिर रह्यो ।

सबै सेक्टरका सूचक बढेका छन् । माइक्रोफाइनान्स सबैभन्दा धेरै ४.९२ प्रतिशत बढ्यो । बैंकिङ २.५२, विकास बैंक ३.१५, फाइनान्स १.२९, होटल तथा पर्यटन १.८२, हाइड्रोपावर १.४१, लगानी ३.३८, जीवन बीमा २.४३, उत्पादन तथा प्रशोधन ३.०७, निर्जीवन बीमा ३.७१, अन्य २.६३ र व्यापार समूह १.३१ प्रतिशत बढे ।

आइतबार ९ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत मूल्य बढेका कम्पनीमा अधिकांश माइक्रोफाइनान्स कम्पनी छन् ।

उन्नति सहकार्य, ग्लोबल आईएमई लघुवित्त, अभियान, विजय लघुवित्त, भूगोल इनर्जी हाइड्रोपावर, ग्रामीण विकास लघुवित्त, एनएमबी माइक्रोफाइनान्स, समता घरेलु लघुवित्त र न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।

त्यस्तै बजार बढ्दा पनि सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । सप्तकोशी विकास बैंकको ८.२०, माथिल्लो मैलुङखोलाको ५.८५, मन्दाकिनी हाइड्रोपावरको ४.६ प्रतिशत मूल्य घट्यो ।

एनआरएन इन्फ्रास्ट्रक्चर, सप्तकोशी विकास बैंक, सिन्धु विकास बैंक, हिमालयन पावर पार्टनर र हिमालयन रिइन्स्योरेन्स कारोबार रकमका आधारमा अगाडि देखिए ।