बुधबार २३ माघ, २०८१

दिब्योल लुब्रिकेन्ट्स नेपालमै उत्पादन गरिने

दिब्योल लुब्रिकेन्ट्स नेपालमै उत्पादन गरिने

काठमाडौं, २३ माघ । दिब्योल लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक विक्रेता सत्यदिप इन्टरनेसनलले दिब्योल लुब्रिकेन्ट्स नेपालमै उत्पादन गर्ने घोषणा गरेको छ ।

कम्पनीले हालै आयोजना गरेको ‘मिट एन्ड ग्रिट’ कार्यक्रममा दिब्योल लुब्रिकेन्ट्सको उत्पादक कम्पनी गान्धार आयल रिफाइनरी (इन्डिया) लिमिटेड र सत्यदिप ग्रुपले सो घोषणा गरेका हुन् ।

सोमबार ललितपुरमा आयोजना गरिएको कार्यक्रममा दिब्योल लुब्रिकेन्ट्सका प्रबन्ध निर्देशक समिर पारेख, सेल्स हेड सिल्भानस परमार, नेपाल अटो मेकानिक्स व्यवसायी संघका निवर्तमान अध्यक्ष ठाकुर प्रसाद न्यौपाने र सत्यदिप इन्टरनेसनलका प्रबन्ध निर्देशक दीपेन्द्र कुमार मिश्रलगायतको उपस्थिति रहेको थियो ।

एक सयभन्दा बढी रिटेलर र मेकानिक्स सहभागी कार्यक्रममा दिब्योल लुब्रिकेन्ट्सको गुणस्तर र उपलब्ध प्रोडक्ट रेन्जका बारेमा जानकारी गराइएको थियो ।

सो अवसरमा गान्धार आयल रिफाइनरीका सेल्स हेड सिल्भानस परमारले दिब्योल लुब्रिकेन्ट्सको गुणस्तर, यसको विशेषता र नेपालमै उत्पादन थाल्नुको महत्वका बारेमा जानकारी दिएका थिए ।

दिब्योल लुब्रिकेन्ट्स हाल विश्वका एक सय छभन्दा बढी देशमा बिक्री हुँदै आएको उनको भनाइ थियो ।गुणस्तर अब्बल भएकै कारण मर्सिडिज बेन्ज, भल्भो र अतुलजस्ता विश्व प्रख्यात ब्रान्डले दिब्योललाई आफ्नो सवारीसाधनमा प्रयोग गर्न सिफारिस गरेका छन् । लुब्रिकेन्ट्सका साथै अटो केयर प्रोडक्ट समेत उपलब्ध रहेको परमारले बताए ।

सुलभ मूल्यमा गुणस्तरिय लुब्रिकेन्ट्स उपलब्ध गराएकै कारण आजका दिनमा दिब्योलको बजार विश्वभर विस्तार हुन सकेको उनले जिकिर गरे ।

दिब्योलले हाल भारत, यूएई र नेपालमा उच्च गुणस्तरको लुब्रिकेन्ट्स उत्पादन गर्दै आएको छ । कम्पनीसँग विश्वकै उत्कृष्ट फर्मुलेसन तथा रिसर्च एन्ड डेभ्लपमेन्ट सुबिधा रहेको जनाईएको छ ।