विभिन्न खेल आयोजनाका लागि चेम्बरको सहकार्य
काठमाडौं, २३ माघ । नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र सोसँग सम्बन्धित सामग्रीको प्रदर्शनी आयोजनाका लागि विभिन्न संस्थासँग सहकार्यको सम्झौता गरेको छ । चेम्बरको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माइस इन्टरनेसनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एन्ड फिटनेस इन्ट्रस्ट्रिज तथा नेपाल स्पोर्टस् एसोसिएसनसँग सहकार्यका लागि सम्झौता गरेको हो ।
नेपाल स्पोर्टस कन्क्लेभ २०२५, नेपाल दोस्रो स्पोर्टस एन्ड फिटनेस एक्स्पो २०२५ एवं पाँचौं स्पोर्टस च्याम्पियनसिप एण्ड एक्सोका लागि सहकार्यको सम्झौता गरिएको चेम्बर अफ कमर्सद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सम्झौतामा चेम्बरको शिक्षा एवं खेलकुद समितिका सभापति रुपक राजवंशी, नेपाल स्पोर्टस एन्ड फिटनेस इन्डस्ट्रीका अध्यक्ष सुरज डंगोल यस्तै नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रीय सदस्य निरन्जन राजवंशी र माईस इन्टरनेसनलका निर्देशक दिपक थापाले हस्ताक्षर गरेका हुन् । सो हस्ताक्षर कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्राको सहभागिता थियो ।
चेम्बर अफ कमर्स र खेलकुदका विभिन्न निकायबीच भएको सम्झौताले नेपालमा खेल क्षेत्रको विकास, अवसरहरूको सिर्जना एवं नीतिगत तवरमा सहकार्य हुने विश्वास गरिएको छ । चेम्बरसँग गरिएको सम्झौतापछि सरोकारवाला सबै निकायलाई एकीकृत गरी खेलकुद क्षेत्रको विकास गर्न रणनीतिक साझेदारीमा महत्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ । दोस्रो नेपाल स्पोर्टस कन्क्लेभमा समूहगत छलफल, कार्यपत्र प्रस्तुतिलगायतका कार्यका लागि चेम्बर अफ कमर्सले सहकार्य गर्नेछ ।
यस्तै, दोस्रो नेपाल फिटनेस एक्स्पोमा खेलाडी एवं फिटनेस उद्योगी, नयाँ खोज एवं फिटनेस क्षेत्रको बारेमा बृहत् जानकारी दिने उद्देश्य राखिएको छ । यस्तै, चेम्बरसँगको सहकार्यमा पाँचौँ स्पोर्टस् च्याम्पियनसिपको समेत आयोजनाको तयारी भएको छ । चेम्बर अफ कमर्स र विभिन्न खेलकुदका संस्थाबीच आगामी तीन वर्षका लागि सहकार्यको सम्झौता भएको चेम्बर अफ कमर्सद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यो सहकार्यले नेपालको खेल क्षेत्र र अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ ।