पूजाको अर्धशतकमा नेदरल्यान्ड्सलाई नेपालले दियो १४६ रनको लक्ष्य
काठमाडौं, २३ माघ । राजधानीमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी–२०आई शृंखलाको आफ्नो पाँचौं खेलमा नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गरिरहेको छ ।
टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले नेदरल्याण्ड्ससमक्ष १४६ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ । नेपालले २० ओभरमा ४ विकेट गुमाएर १४५ रन बनायो ।
नेपालका लागि पुजा महतोले अविजित अर्धशतक बनाइन् । पुजाले ५१ बलमा पाँच चौकासहित ६२ रन बनाइन् । यो यस शृंखलाकै उच्च व्यक्तिगत स्कोर हो ।
कप्तान इन्दु बर्माले ३९ तथा रुबिना क्षेत्रीले २० रन जोडिन् । नेदरल्याण्ड्सका लागि आइरिस विलिङले २ विकेट लिँदा कारोलिन डे लाङ र हिथर सिगर्सले १/१ विकेट लिए ।
चौथो नम्बरमा ब्याटिङमा आएकी पूजाले शृंखलामै नेपालका लागि पहिलो अर्धशतक बनाएकी हुन् ।