बुधबार २३ माघ, २०८१

त्रिकोणात्मक सिरिज : नेदरल्याण्ड्सविरुद्ध पूजा महतोको अर्धशतक

त्रिकोणात्मक सिरिज : नेदरल्याण्ड्सविरुद्ध पूजा महतोको अर्धशतक

काठमाडौं, २३ माघ । त्रिकोणात्मक महिला टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपाली टिमकी अलराउन्डर पूजा महतोले अर्धशतक पूरा गरेकी छन् । उनले ४३ बलमा चार चौकाको सहयोगमा अर्धशतक पूरा गरेकी हुन् ।  

टी–२० आईमा पूजाको यो दोस्रो अर्धशतक हो । साथै, उनी जारी सिरिजमा अर्धशतक हिर्काउने पहिलो नेपाली ब्याटर बनेकी छन् । साथै, पूजा नेदरल्याण्ड्सविरुद्ध अर्धशतक प्रहार गर्ने पहिलो नेपाली महिला ब्याटर बनेकी छन् । 

आजको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गरिरहेको हो । नेपाल र नेदरल्याण्ड्सबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको हो ।

नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । नेपालले पाँचौं खेलमा अलिसाकुमारी यादवको स्थानमा सीता राना मगरलाई मौका दिएको हो ।   

सिरिजमा नेपाल पहिलो जितको खोजीमा छ । नेपालले चार म्याच खेल्दासम्म लगातार हार बेहोरेको छ । लगातार चौथो हार बेहोरेपछि घरेलु मैदानमा सिरिज जित्ने नेपालको सपना अधुरै रहेको छ ।   

नेपाल अब बाँकी दुई खेलमा राम्रो क्रिकेट खेलेर सिरिजको अन्त्य गर्ने सोचमा छ । नेपाली महिला टिमले पहिलोपटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय सिरिज खेलिरहेको हो ।

तुलनात्मकरूपमा आफूभन्दा बलियो टिमविरुद्ध खेलिरहेकाले पनि नेपालले अपेक्षाकृत नतिजा हात पार्न सकिरहेको छैन ।   

नेदरल्याण्ड्सले चार म्याचमा दुईमा जित र दुई खेलमा हारको सामना गरेको छ ।