बिहीबार २४ माघ, २०८१

हेटौँडा काठमाडौँ रुटमा थपिए ३० विद्युतीय माइक्रो, शशीला मोटर्सले गर्‍यो हस्तान्तरण

हेटौँडा काठमाडौँ रुटमा थपिए ३० विद्युतीय माइक्रो, शशीला मोटर्सले गर्‍यो हस्तान्तरण

काठमाडौं, २३ माघ । बाराको पथलैया, चितवनको ठोरी र मकवानपुरको हेटौँडाबाट काठमाडौँसम्म चल्ने गरि ३० वटा विद्युतीय माइक्रो भ्यान सञ्चालनमा आएका छन् ।

यातायात ब्यवसायीहरुको समूह राष्ट्रिय स्वतन्त्र मल्टिप्रपोज व्यवासायी प्रालिलाई शशीला मोटर्सले ३० वटा किटोन ब्राण्डका १४ सिट क्षमताका इभी माइक्रो भ्यान हस्तान्तरण गरेको हो ।

बाराको पथलैयामा आयोजित समारोहमा गाडी हस्तानन्तरण गर्दै शशीला मोटर्स प्रालिका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले बिक्री पछिको सर्भिसलाई सहज बनाउनु आफ्नो प्राथमिकतामा रहेको बताए ।

खतिवडाले विद्युतीय सवारी वातावरणमैत्री मात्र नभएर यात्रु र व्यवसायीमैत्री पनि रहेको भन्दै ब्यवसायीहरूलाई आवश्यक सहयोग गर्न तत्पर रहेको प्रतिवद्धता पनि व्यक्त गरे । 

सो अवसरमा सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले अहिलेको समयमा विद्युतीय गाडी निर्विकल्प रहेको भन्दै व्यवसायीहरूलाई सफलताको शुभकामना दिए । 

उनले भने, “इभी गाडीहरूले देशको ऊर्जा प्रणालीलाई अझ प्रभावकारी बनाउने र पर्यावरणमैत्री यातायातलाई प्रोत्साहित गर्नेछ, जुन देशको आवश्यकता हो ।’’

आजैदेखि सेवाको सुरुवात भएको जानकारी दिँदै व्वसायीहरूले यात्रुहरूको सुविधा र गुणस्तरीय सेवा प्राथमिकतामा रहेको बताए । इन्धन खर्च बचत हुनाले विद्युतीय गाडी दीर्घकालीन रूपमा व्यवसायीको हितमा रहने उनीहरूको विश्वास थियो ।