पाथीभरा ‘नो केबलकार समूह’ र सरकारबीच आज निर्णायक वार्ता हुँदै

काठमाडौं, २७ माघ । ‘नो केबलकार समूह’ र सरकारी वार्ता टोलीबीच आज निर्णायक वार्ता हुँदैछ ।
ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा) मा निर्माणाधीन केबलकारको विषयमा आन्दोलनरत समूह र सरकारी टोलीबीच आज बिहान ११ बजे वार्ता हुने भएको हो ।
२२ माघमा ६ बुँदे सहमति गरेर पाथीभरा केबलकारको माथिल्लो स्टेसनको निर्माण कार्य तत्काललाई स्थगन गरिएको थियो ।
उक्त दिन भएको ६ बुँदे सहमतिमा माघ २७ (आज) पुनः विस्तृत छलफल गर्ने गरी सहमति जुटेको थियो ।
त्यसक्रमा दुवै पक्षबीच आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क तथा प्रभावकारी स्वास्थ्य उपचार सरकारले गर्ने, माघ १२ गतेको घटनामा छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्ने, आन्दोलनका क्रममा पक्राउ परेकाहरुलाई विना शर्त रिहा गर्ने प्रक्रिया अघि बढाउने, मुक्कुमलुङ संरक्षक पक्षले घोषणा गरेको यातायात बन्द फिर्ता लिने सहमति भएको थियो ।
त्यसपछि ‘नो केबलकार समूह’ले आन्दोलनका कार्यक्रम स्थगित गरेको थियो भने पक्राउ परेका सबै जना रिहा भइसकेका छन् ।