बिहीबार ०१ फागुन, २०८१

सांसद्मा विश्वप्रकाश शर्मा: अहिलेको गठबन्धन प्राकृतिक हो भनेर दाबी गर्दैनौं

सांसद्मा विश्वप्रकाश शर्मा: अहिलेको गठबन्धन प्राकृतिक हो भनेर दाबी गर्दैनौं

काठमाडौं, २७ माघ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमाले र कांग्रेसबीच गठबन्धन भएको सरकारलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असंवैधानिक भनेकोप्रति आपत्ति जनाएका छन् ।

बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्ने क्रममा उनले एउटै धारा र उपधाराबाट कांग्रेसकै समर्थनमा प्रचण्ड प्रधानमन्त्री हुँदा ठिक र ओली प्रधानमन्त्री हुँदा बेठिक कसरी हुन्छ ? भनेर प्रश्न गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले वर्तमान सरकारलाई अप्राकृतिक, असंवैधानिक र अलोकतान्त्रिक भएको दाबी गर्दै आएका छन् ।

प्रचण्डले विभिन्न सार्वजनिक कार्यक्रममा मात्रै नभइ संसद्को रोष्ट्रमबाट पनि उक्त विषय दोहोर्‍याएका थिए ।

महामन्त्री थापाले त्यसतर्फ जवाफ दिँदै प्राकृतिक हो भनेर आफूहरूले दाबी नगर्ने र असंवैधानिक चाहिँ कसरी ? भन्दै प्रश्न गरे ।

‘दुई वटा भिन्न दर्शनकोबीच गठबन्धनको सरकार बन्नु भनेको समयको बाध्यता हो । गणीतिय बाध्यता हो । परिस्थितिको आवश्यकता हो । प्रष्ट रुपमा भन्दा यो प्राकृतिक भइरहेको छ भनेर हामी दाबी गर्दैनौं,’ महामन्त्री शर्माले भने ।

उनले एउटै धारा, उपधारा र उही दिलको समर्थन मिल्दा कसरी संवैधानिक र असंवैधानिक भन्दै प्रश्न गरे ।

‘तर के संवैधानिक पनि छैन त ? संविधानको धारा ७६ को उपधारा २ बमोजिम कांग्रेसको समर्थनमा माओवादीको अध्यक्ष प्रधानमन्त्री बन्दा त्यो संवैधानिक ? अनि त्यही संविधानको त्यही धाराको त्यही उपधाराको त्यही पार्टीको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा कसरी असंवैधानिक ?,’ महामन्त्री शर्माले भने ।

उनले प्रचण्डको उक्त भनाइलाई ‘आवेगात्मक अभिव्यक्ति’ को रुपमा अर्थ लगाएका छन् ।

‘प्रतिपक्षी नेताले बोल्नुभएको त्यो अभिव्यक्ति आवेगात्मक अभिव्यक्तिको नमुना हो,’ महामन्त्री शर्माले भने ।