एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउनुपर्छ : शंकर पोखरेल
![एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउनुपर्छ : शंकर पोखरेल](https://snowberry.prixacdn.net/media/gallery_folder/sankar%2520pokhrel_kz0lBpDNBs_fsrnsj3gtdzzpnnuyrj5xawyriomo9pxgsos0ay5cwtdtq1hlpgiewllyiy8_cUfMIIpMc0_rzlbmgnw23kjssgjddxtjxhmjudiwkoyelvu9nuvglyaxz5rk382yuds1ftj.png)
पाटन (ललितपुर), २७ माघ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले देशमा स्थायित्व र स्थिरताका लागि एमालेलाई बलियो राजनीतिक शक्ति बनाउनुपर्ने बताएका छन् ।
एमाले ललितपुर जिल्ला कमिटीको विस्तारित बैठक, सूर्य पत्रिका र सङ्गठन डायरी विमोचन कार्यक्रम तथा जरा केन्द्रित अभियान शुभारम्भका अवसरमा उनले राजनीतिक अस्थिरताका कारणले आजको चुनौती निम्त्याएको हो भन्दै जनतालाई एमालेले केही गर्दैछ भन्ने गरी योजना बनाउनुपर्ने बताए ।
“युवामा छाएको निराश हटाउन, देशमा स्थायित्व र स्थिरताका लागि एमालेलाई बलियो राजनीतिक शक्ति बनाउनुपर्छ, समाजमा विभेद्, अन्याय र उत्पीडनमा परेकाले एमालेलाई खोज्ने वातावरण तयार गर्नुपर्छ, पीडितहरूले युट्युबर खोज्न भन्दा एमालेमा गए न्याय पाइन्छ भन्ने वातावरण सिर्जना गर्नुपर्छ,” उनले भने । महासचिव पोखरेलले पार्टीका योजनालाई व्यवहारमा प्रभावकारी रूपमा सम्पादन गर्न सफलता हासिल गर्न आग्रह गर्दै नेता धेरै हुने तर जनतासँगको सम्बन्ध विग्रिने अवस्था हुनुहुँदैन भन्ने धारणा राखे ।
महासचिव पोखरेलले भने, “वडा केन्द्रीत तीन महिने अभियानमा पार्टी जुटिरहेको छ, सङ्गठन सुदृढ र सवल नहुँदा जिल्लामा बहुमतमा रहेको वामपन्थी जनमतको उपयोग हुन नसकेको अवस्था छ, यसलाई चिर्दै हामीले जनमतमा आधारित कार्यकर्तामा आधारित पार्टी निर्माणमा ध्यान दिनुपर्छ, पार्टी प्रतिष्ठाको विषय हैन, परिवर्तनको अभियान हो ।”
महासचिव पोखरेलले २०७४ पछि सङ्गठनात्मक जीवन खल्बलिएको भन्दै त्यसलाई सुधार गर्दै पार्टीलाई बलियो निर्णायक शक्तिका रूपमा स्थापित गर्ने बताए । उनले पार्टीको नीतिलाई राष्ट्रिय नीति बनाउन पार्टीलाई स्थापित गरिनुपर्ने आवश्यकता औँल्याए ।
“जनताले पत्याएका कार्यकर्ताका माध्यमबाट नै देशमा परिवर्तन ल्याउन सकिन्छ, जनतालाई पार्टीसँग जोड्न नै तीन महिने अभियान सुरू भएको हो, प्रत्येक वडाका कूल मतदाताको तीन प्रतिशत पार्टी सदस्यता कायम गर्नुपर्छ, पार्टी सदस्यतालाई विस्तार गर्ने अभियान अगाडि बढाउनुपर्छ,” उनले भने ।
महासचिव पोखरेलले जनमत कायम राख्न जनसङ्गठनलाई क्रियाशील बनाउँदै विस्तार गरेर जनआधार विस्तार गर्न आग्रह गरे । “वामपन्थी जनआधारलाई एक ठाउँमा ल्याउन आवश्यक छ, हामी अब कम्युनिस्ट एकताका नाममा राजनीतिक प्रहसन गर्ने पक्षमा छैनौँ, राजनीति कार्यकर्ता र समाजमा रहेका वामपन्थी अगुवालाई राजनीतिक ध्रुवीकरण गर्नुपर्छ,” उनले भने ।
महासचिव पोखरेलले निश्चित उद्देश्यका लागि दुईवटा पार्टी मिलेर अहिले सरकार गठन भएको बताउँदै कानुमा सुधार गरेर समस्या समाधान गर्न सकिन्छ भनेर दुईवटा पार्टीका समान धारणामा आधारित भएर अध्यादेश आएको बताए । उनले वर्तमान सरकार बनेपछि मुलुकमा आर्थिक अवस्था सुधार हुँदै गएको परिस्थिति अनुकूल भइनसकेको कारण लगानीको वातावरण बनिनसकेको दाबी गरे । रासस