सूचना प्रविधिको बढ्दो प्रयोगसँगै भ्रष्टाचारका प्रवृत्तिमा जटिलता थपिएको छ: राष्ट्रपति
![सूचना प्रविधिको बढ्दो प्रयोगसँगै भ्रष्टाचारका प्रवृत्तिमा जटिलता थपिएको छ: राष्ट्रपति](https://snowberry.prixacdn.net/media/gallery_folder/ramchandra-paudel-e1739163388942_iM0K3ZSkgn_sp0yrcwi49a44iponydzkjxx2gkqq6avcrj1pmdphdb2vpagfwdgng0r83k9_VemE2Znt6u_cwb7mrjd7im9ouy7doqtrzi4zxo1bvphvuyiqko3owb3jsydmudnjf81cptc.jpg)
काठमाडौं, २८ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचना प्रविधिको तीव्र विकास र प्रयोगसँगै भ्रष्टाचारका तरिका र प्रवृत्तिमासमेत जटिलता थपिएको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारका प्रकृति र स्वरूप जसरी परिवर्तन भइरहेको छ त्यसअनुसारको अनुसन्धान र अभियोजन प्रक्रिया अवलम्बन गर्दै आधुनिकीकरण गर्नुपर्ने बताए ।
उनले भने, ‘सत्ता शक्ति प्राप्तिको अनावश्यक मोहले प्रक्रिया पद्धति र जिम्मेवारीको दुरुपयोग गरी मानिसलाई भ्रष्टाचारतर्फ लैजान्छ । सूचना प्रविधिको तीव्र विकास र प्रयोगसँगै भ्रष्टाचारका तरिका र प्रवृत्तिमासमेत जटिलता थपिएको छ । भ्रष्टाचारका प्रकृति र स्वरूप जसरी परिवर्तन भइरहेको छ । त्यसअनुसारको अनुसन्धान र अभियोजन प्रक्रिया अवलम्बन गर्दै आधुनिकीकरण गर्दै जानुपर्छ ।’
त्यस्तै उनले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताको घरदैलोमा पुर्याउन नसकिने धारणा राखे । सुशासनप्रतिको उच्च आकांक्षालाई पूरा गर्दै देशको हित र अन्तर्राष्ट्रिय छविको लागि सदाचार, निष्पक्षता र पारदर्शितालाई मूल मन्त्र बनाएर काम गर्नुपर्ने उनको भनाई छ ।
उनले भने, ‘सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताको घरदैलोमा पुर्याउन सकिँदैन । नागरिकको जीवस्तरमा गुणात्मक सुधार गरी जनताको विकास र सुशासनप्रतिको उच्च आकांक्षालाई पूरा गर्दै देशको हित र अन्तर्राष्ट्रिय छविको लागि सदाचार निष्पक्षता पारदर्शितालाई मूल मन्त्र बनाएर काम गर्नुपर्छ । यसमा नीति पद्धति विधि र प्रवृत्तिलाई सुधारका प्रयासलाई प्रभावकारी बनाएर अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता हो ।
राष्ट्रपति पौडेलले भ्रष्टाचारसम्बन्धी विधेयकहरू लामो समयसम्म किनारा नलाग्दा पनि केही समस्या आएको गुनासो आइरहेको भन्दै भने,‘यसमा सम्बद्ध पक्षको म ध्यानाकर्षण गराउन चाहन्छु । भ्रष्टाचार नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको नेपाल पनि पक्षधर मुलुक भएकाले त्यसमा उल्लेखित प्रावधानअनुरूप हाम्रा कानुन र संयन्त्र परिमार्जन गर्न आवश्यक छ भन्ने पनि मलाई लाग्दछ ।’
उनले सुशासन, सामाजिक न्याय र समृद्धिको अवधारणालाई मूर्तरूप दिन सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्ने बताउँदै आयोगले शक्ति र पद हुँदैमा जोकोही कानुनी जवाफदेहीताबाट मुक्त हुँदैन भन्ने विश्वास आम नागरिकमा जागृत गराउन सक्नुपर्ने बताए ।
त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले नागरिक सबै परिवर्तनको संवाहक र सरकार त्यसको नेतृत्वकर्ता भएको कारण नागरिक तहबाट आएको चासो र सरोकारलाई सम्बोधन गरी मुलुकमा सुशासनको अवस्था सुधार गर्नको लागि नेपाल सरकारको अवधारणामा नै विशेष अभियान सञ्चालन गर्न आवश्यक रहेको बताए ।
उनले भने, ‘नागरिक परिवर्तनको संवाहक हो भने सरकार नेतृत्वकर्ता हो । त्यसैले नागरिक तहबाट आएको नागरिक तहबाट आइरहेको चासो र सरोकारलाई सम्बोधन गरी मुलुकमा सुशासनको अवस्था सुधार गर्नको लागि नेपाल सरकारको अवधारणामा नै विशेष अभियान सञ्चालन गर्न आवश्यक छ ।साथै आयोगले सुशासन प्रवर्द्धन गरी भ्रष्टाचार नियन्त्रण गर्न विभिन्न रणनीतिकासाथ सकारात्मक पहल कदमी लिएको छ ।’