सोमबार २२ मंसिर, २०८२

पञ्चकन्या ग्रुपले बजारमा ल्यायो गुणस्तरीय र आकर्षक बाथवयरका सामान

पञ्चकन्या ग्रुपले बजारमा ल्यायो गुणस्तरीय र आकर्षक बाथवयरका सामान

काठमाडौं, २८ माघ । पञ्चकन्या समूहले आफ्नै डिजाइनमा गुणस्तरीय र आकर्षक ‘बाथवयर’का सामान ल्याएको छ । पञ्चकन्याले २१ माघदेखि उक्त सामान बजारमा ल्याएको हो । त्यसमा धारा, सावरलगायतका बाथवयर सामग्री छन् । समूहले पञ्चकन्या बाथवय र कम्पनी स्थापना गरेर यी सामग्री बनाउन लागिएको हो ।

सस्तो मूल्यमै लक्जरी, गुणस्तरीय र आकर्षक डिजाइनका धारा र सावरलगायतका बाथवयर सामग्री बजारमा ल्याइएको पञ्चकन्या गु्रपको भनाइ छ । घर, कार्यालय, होटेललगायतका भवनको भान्सा र बाथरुमलाई हुने बाथवयर सामान ल्याइएको कम्पनीको भनाइ छ । विभिन्न १८ वटा मोडेलमा बाथवेयर सामग्री ल्याइएको छ, जसको नाम नेपालकै नदी तथा खोलाबाट राखिएको छ । 

मेची, कोशी, गण्डकी, कन्काई, त्रिशूली, मेलम्ची, सेती, कमला, नारायणी, माई, तमोर, झिमरुक, म्याग्दी, हुम्ला, राप्ती, सोलु, महाकाली र कर्णाली नामका धारण  बजारमा ल्याइएको छ । यसले घरलाई थप सुन्दरता प्रदान गर्ने बताइएको छ । 

अहिले नेपाली बजारमा गुणस्तरीय र कमसल दुवै प्रकृतिका धारा तथा सावर पाइन्छन् । कमसल धारण तथा सावरको मूल्य यसै पनि सस्तो नै छ । तर, गुणस्तरीय धारा तथा सावरको मूल्य अत्यधिक महँगो भएको पनि पाइन्छ । त्यसले गर्दा सबै ग्राहकले गुणस्तरीय बाथवयर सामान प्रयोग गर्न पाएका छैनन् । तर, पञ्चकन्याले सस्तो मूल्यमै गुणस्तरीय धारा, सावरलगायतका बाथवयर सामग्री बजारमा ल्याएको दाबी गरेको छ । सस्तो भएका कारण सबै खाले ग्राहकले सहजै खरिद गर्न सक्ने कम्पनीको दाबी छ । बजारमा पाइने अन्य धाराको तुलनामा यो सस्तो र गुणस्तरीय भएको कम्पनीको दाबी छ । 

पञ्चकन्याले आफ्नो बाथवेयर सामानमा जर्मनको प्रविधि प्रयोग गरेको छ । धारा र सावरमा जोडिने पाइपलगायतका उपकरण पनि जर्मन प्रविधिबाटै निर्माण गरिएको छ । साथै, बाथवेयरका सबै सामान शतपतिशत ब्रासबाट निर्माण गरिएको छ, जुन लामो समयसम्म टिकाउ हुने कम्पनीको दाबी छ । 

साथै, यसको एरिएटर अर्थात् ‘पानी फ्लो गराउने पार्ट’ पनि जर्मन प्रविधिबाट बनाइएको छ । हावाको बहावअनुसार पानी निकाल्ने अर्थात् पानीको प्रेसर हुने गरी एरिएटरको डिजाइन गरिएको छ । साथै, पानीबाट ‘बबल्स’समेत निकाल्न सहयोग गर्नेछ । त्यसले गर्दा कम पानीमै धेरै फाइदा लिन सकिने बताइएको छ । यसले पानीको खपतलाई वैज्ञानिक बनाउने कम्पनीको भनाइ छ । 

पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वलकुमार श्रेष्ठले १३ महिना लगाएर धाराको डिजाइन गरेको बताए । यसमा जर्मनको प्रविधि प्रयोग गरेको उनको भनाइ छ । 

‘हामीले कस्तो डिजाइनमा धारा बनाउने ? गुणस्तर कस्तो बनाउने ? कहाँको कस्तो प्रविधि प्रयोग गर्ने ? नेपालमा बाथवयरको अवस्था कस्तो छ ? उपभोक्ताले कस्ता समस्या सामना गरिरहेका छन् ? यीलगायतका विषयमा हामीले झन्डै १३ महिना अनुसन्धान गरेका थियौँ । विदेशमा समेत गएर यसबारे अध्ययन–अनुसन्धान गर्‍यौँ,’ उनले भने, ‘त्यसपछि हामीले बनाउने बाथवयरका सामानको डिजाइन र प्रविधि फाइनल गरेको हो । यसमा जर्मनको प्रविधि प्रयोग गरिएको छ । लामो समयसम्म टिकाउ हुने गरी कच्चा पदार्थ तथा पाटपुर्जा राखिएको छ । समग्रमा उच्च गुणस्तरमा यी सामान बनाएका छौँ ।’

पञ्चकन्या बाथवयरका बजार प्रबन्धक वसन्त रिजालले अब द्रुत गतिमा यसको बजार विस्तार गरिने बताए । ‘अहिले नेपालभरका विभिन्न १० वटा वितरकबाट यसको बिक्री–वितरण सुरु भइसकेको छ । काठमाडौं उपत्यकामा पनि यो उपलब्ध छ । चालू आवमै १०० वटा आउटलेट विस्तार गर्ने लक्ष्य लिएका छौँ,’ उनले भने, ‘ग्राहकले भनेको समयमा नजिकै पसलबाट सहजै हाम्रो उत्पादन पाउने वातावरण बनाउँदै जानेछौँ ।’

२४ घण्टा सेवा, १० वर्षको ग्यारेन्टी

कम्पनीले यसमा १० वर्षको ग्यारेन्टी दिएको छ । खरिद गरेको १० वर्षमा बाथवयर सामानका ‘स्पेयर पार्टस्’ कुनै समस्या आएमा नयाँ उपलब्ध गराउने कम्पनीको भनाइ छ । त्यसका लागि बिलसमेत आवश्यक नपर्ने कम्पनीको भनाइ छ ।

‘हाम्रो सामानका स्पेयर पार्टस्मा १० वर्षको ग्यारेन्टी दिएका छौँ । त्यसका लागि बिल पनि चाहिँदैन । विश्वासका आधारमा ग्यारेन्टीको सुविधा दिन्छौँ,’ कार्यकारी निर्देशक श्रेष्ठले बताए । साथै, ग्राहकलाई हप्ताको सातै दिन र २४ घण्टा नै प्लम्बिङ सेवा प्रदान गर्ने कम्पनीको भनाइ छ ।