बालेनको गीत ‘नेपाल हाँसेको’ युट्युब ट्रेन्डिङको एक नम्बरमा
![बालेनको गीत ‘नेपाल हाँसेको’ युट्युब ट्रेन्डिङको एक नम्बरमा](https://snowberry.prixacdn.net/media/gallery_folder/1739243655-uRFaf_9H8EmXn1Lt_dkcgqzautbn0rrgvqxwnkqdgb9wvpxnktklconxi3lya34ntrpxpjgd9qh7s_EvSS1roSNF_rymkcauuz4e2ychw7mzuxau8ztmp64gcusarv4y6v0iqame8zemg9xdp4w4z.jpg)
काठमाडौं, २९ माघ । चलचित्र ‘लाज शरणम्’को गीत युट्युब ट्रेन्डिङको दुई नम्बरमा आइपुगेको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत रिलिज भएको केही घण्टामै युट्युब ट्रेन्डिङको म्युजिक सेक्सनको दुई नम्बरमा आइपुगेको हो ।
‘नेपाल हाँसेको…’ बोलको गीतमा बालेनको शब्द, संगीत र स्वर छ । गीतले विकसित नेपालको परिकल्पना गरेको छ । कोरसमा अन्य कलाकारको पनि स्वर सुन्न सकिन्छ ।
बालेन मेयर भएपछि उनले गाएको गीत सार्वजनिक भएको यो पहिलोपटक हो । मेयर भएपछि उनले हालसम्म कुनै पनि गीत गाएका थिएनन् ।
‘लाज शरणम्’ले बालेनको स्वरमा रहेको गीतलाई प्रोमोसनल सङ भनेको छ ।
फागुन १४ गते महाशिवरात्रीको दिन रिलिज हुने चलचित्र ‘लाज शरणम्’ले केही दिनअगाडि मात्रै ‘हेर्दा हेर्दैमा…’ बोलको गीत सार्वजनिक गरेको थियो ।
चलचित्र ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्र हो । लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको छ ।
‘लाज शरणम्’को मुख्य भूमिकामा सिताराम कट्टेल ‘धर्मुस’ मुख्य भूमिकामा छन् । यो चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका हुन् ।
‘सक्किगोनि’ टिमले बनाएको यो चलचित्रमा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् ।