बझाङका पत्रकार ललित सिंहमाथि चक्कु प्रहार
![बझाङका पत्रकार ललित सिंहमाथि चक्कु प्रहार](https://snowberry.prixacdn.net/media/gallery_folder/lalit-768x589_Z8rVZV0JRF_ht8ipib3d5huftiamqinio9ijmdaawz5smulitpn4rtxvdfpmzbs3egclzh3_0RNNVk80WO_tsts1vz5zpcpw7hjway5lkg9rysaxnqqsrml3lbahxat7oujq8113ksqnknz.jpg)
बझाङ, २९ माघ । नेपाल पत्रकार महासंघ बझाङ शाखाका अध्यक्ष तथा नेपाल समाचारपत्र दैनिक बझाङ संवादाता ललित सिंहमाथि चक्कु प्रहार भएको छ।
सोमबार राति सदरमुकाम चैनपुर नजिक रहेको देविस्थान होटलमा बोलाएर विनोद कठायतको समूहले सिंहमाथि आक्रमण गरेको बताइएको छ। अध्यक्ष सिंहले होटलमा बोलाएर समूहले आफूमाथि चक्कु प्रहार गरेको बताएका छन्।
घटनामा सिंहको आँखा माथिल्लो भागमा गम्भीर चोट लागेको छ। उनलाई तत्कालै जिल्ला अस्पताल बझाङमा उपचारका लागि लगिएको छ।
बझाङका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाका अनुसार घटनामा संलग्न तीन जना—२९ वर्षीय विनोद कठायत, २६ वर्षीय शितल कठायत र २८ वर्षीय नरेश द्वाललाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ।
पत्रकार सिंहमाथि भएको सांघातिक आक्रमणप्रति नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघका महासचिव रामप्रसाद दाहालले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘‘जुनसुकै बहानामा भए पनि यो आक्रमणलाई महासंघले अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको जघन्य अपराधको रुपमा लिएको छ। पत्रकारलाई पेशाप्रति हतोत्साहित र त्रसित बनाउने यो घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाहीका लागि महासंघ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ। ‘
साथै पत्रकारको सुरक्षामा गम्भीर हुन र यस्ता घटना नियन्त्रणमा कडा कदम चाल्न पनि पत्रकार महासंघले माग गरेको छ ।