हमासले रोक्यो बन्धक रिहाइ, विपिन जोशीको घरफिर्ती अनिश्चित
![हमासले रोक्यो बन्धक रिहाइ, विपिन जोशीको घरफिर्ती अनिश्चित](https://snowberry.prixacdn.net/media/gallery_folder/bipin_jeRbtEkpPo_KNF89qR2Ds_gqyvdk3qssu1x6igke6krykeiqw5jyeb90ieareynekcfq2kjtctpbjo9brk_QM3PEHzs8R_djgdpiw1ctm8lwmyb9o3sfpfdums2hygzihpftkqiivvqxbjq3yavuayqqqx.jpg)
काठमाडौँ, ३० माघ । इजरायल र हमासबीच युद्धविराम सम्झौतामा उत्पन्न तनावका कारण नेपाली विद्यार्थी विपिन जोशीको रिहाइ अन्योलमा परेको छ। हमासले इजरायलले युद्धविराम सम्झौताको उल्लंघन गरेको आरोप लगाउँदै बन्धकहरुको रिहाइ स्थगित गर्ने घोषणा गरेको छ।
पूर्वसम्झौता अनुसार आगामी शनिबार सयौं प्यालेस्टिनी कैदी र तीन इजरायली बन्धक मुक्त गरिने कार्यक्रम तय गरिएको थियो। यही सूचीमा नेपाली विद्यार्थी विपिन जोशी पनि पर्ने अपेक्षा गरिएको थियो। तर, हमासको पछिल्लो निर्णयले उनलाई मुक्त गरिने सम्भावनामा गम्भीर प्रश्न उठाएको छ।
हमासले जारी गरेको विज्ञप्तिमा इजरायलले गाजा क्षेत्रका विभिन्न स्थानमा गोलाबारी जारी राखेको, विस्थापित प्यालेस्टिनी नागरिकहरुलाई आफ्नै घर फर्किन अवरोध सिर्जना गरेको तथा मानवीय सहायता पुर्याउन बाधा पुर्याएको आरोप लगाइएको छ। हमासको सैन्य शाखाका प्रवक्ता अबु उबैदाले भने, "पछिल्ला तीन हप्तामा इजरायलले पटकपटक युद्धविराम सम्झौताका सर्तहरु उल्लंघन गरेको देखिएको छ। त्यसैले बन्धकहरुको रिहाइ अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ।"
इजरायल र हमासबीच गत १९ जनवरी २०२५ देखि युद्धविराम कार्यान्वयनमा आएको थियो। यो सम्झौताअन्तर्गत दुवै पक्षले बन्धकहरुको रिहाइ गर्दै आएका थिए। तर हमासले बन्धकहरुको रिहाइ रोक्ने निर्णय गरेपछि सम्झौताको कार्यान्वयनमा नयाँ समस्या खडा भएको छ।
यस विषयमा इजरायल सरकारले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासको निर्णयलाई लिएर कडा चेतावनी दिएका छन्। उनले भनेका छन्, "यदि हमासले शनिबारसम्म बन्धकहरु रिहा गरेन भने, युद्धविराम अन्त्य भएको घोषणा गर्न हामी बाध्य हुनेछौं। त्यसपछि हमासलाई निमिट्यान्न पार्ने प्रस्ताव अघि सारिनेछ।"
अब हमासको यो निर्णयले युद्धविराम सम्झौतामा कस्तो प्रभाव पार्छ भन्ने विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यान केन्द्रित भएको छ। नेपाली विद्यार्थी विपिन जोशीसहित अन्य बन्धकहरुको अवस्था के हुने भन्ने अझै अनिश्चित रहेको छ।