रायन इनर्जीले आईपीओ निष्काशन गर्ने, ग्लोबल आइएमई क्यापिटलसँग गर्यो सम्झौता
![रायन इनर्जीले आईपीओ निष्काशन गर्ने, ग्लोबल आइएमई क्यापिटलसँग गर्यो सम्झौता](https://snowberry.prixacdn.net/media/gallery_folder/c2bd3715-5a2e-42f6-a2ee-97c78c89320c_lHUkxqdCJI_yyh7igdsbs4rf1v1ijutyfcdv5efnuskm1bi4odeuikrvmlioemoewqdenbw_dJnP8GJ0E2_yeo992jcpj33c5x1flpbybwp2iik3oevs0cycin3wjpvougnrwrbdibfcexi.jpg)
काठमाडौं, ३० माघ । रायन इनर्जी प्रालिले साधारण शेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । आइपिओ निष्कासनका लागि यस कम्पनीले मंगलबार ग्लोबल आइएमई क्यापिटल लिमिटेडसँग सम्झौता गरेको हो ।
संस्थागत परामर्श तथा व्यावसायिक अवधारणा र प्राथमिक शेयर निष्कासन सम्बन्धी सेवाको लागि रायन इनर्जी र ग्लोबल आइएमई क्यापिटलबीच द्विपक्षीय सम्झौता भएको हो । रायन इनर्जीका प्रबन्ध सञ्चालक दीपक कुमार रौनियार र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइँटेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
रायन इनर्जीका प्रबन्ध निर्देशक रौनियारका अनुसार रायन इनर्जीले प्राथमिक शेयर निष्कासन गर्न लागेको हो । ‘हामी आगामी वर्ष पब्लिकमा जाँदैछौँ । ९० करोड कम्पनीको चुक्ता पुँजी रहेको छ । त्यसको ३० प्रतिशत सार्वसाधरणका लागि आइपिओ जारी गर्छौँ’, उनले भने ।
यस कम्पनीले २०७८ साल पौष ५ गतेदेखि इलेक्ट्रिक साधनहरू (दुई, तीन र चार पाङ्ग्रे) उत्पादन गर्नको निमित्त अनुमति प्राप्त गरी कार्य सञ्चालन गरेको हो । यो संस्था विभिन्न क्षेत्रमा अनुभवी तथा नवीकरणीय ऊर्जा क्षेत्रमा ३० वर्षभन्दा बढी समयदेखि कार्य गर्दै आएका व्यवसायीहरूको समूहद्वारा स्थापित व्यावसायिक संस्था हो । रायन इनर्जीको केन्द्रीय कार्यालय बाग्मती नगरपालिका वडा नं. १२ सर्लाहीमा रहेको छ ।