मेलम्चीको पाइप फुटेर बबरमहलका सडक अस्तव्यस्त
![मेलम्चीको पाइप फुटेर बबरमहलका सडक अस्तव्यस्त](https://snowberry.prixacdn.net/media/gallery_folder/Babarmahal-badi%25202_vsWx3Jgwy7_iwbujyug9fwp1otkoskfpet3tg4mzltut1hebzfpw3asv2cwmnyexldmsrla_ZlyldXWwpb_qowlulg0abfnijyncqqb23pccbqxouu4qsuzmas4sv9ya9bhsqcjhqwqefgc.jpg)
काठमाडौं, ३० माघ । काठमाडौँको बबरमहलमा बुधबार मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप नै फुटेपछि पानी बाहिर निस्केर मुख्य सडकमात्र जलमग्न बनाएन, नजिकैका सरकारी कार्यालयहरूमा पनि पानी पस्यो।
पानी पसेपछि कार्यालयहरूमा कर्मचारीहरूलाई आवतजावतमा समस्या भएको थियो भने केही बेर जनजीवन अस्तव्यस्त बनेको थियो।
केही घन्टापछि बल्लतल्ल पानी व्यवस्थापन हुन सकेको छ भने आवतजावत सुचारु भएको छ। यद्यपि कार्यालयहरूमा थुप्रिएको पानी अझै व्यवस्थापन हुन सकेको छैन।
विद्युत प्राधिकरणको लापरबाहीका कारण मेलम्ची खानेपानीको मुख्य पाइप फुटेको हो।
प्राधिकरणले बिजुलीको तारलाई भूमिगत गर्ने क्रममा मेलम्चीको पाइप फुटेको एक अधिकारीले जानकारी दिएका छन्।
खानेपानी मन्त्रालयका एक अधिकारीका अनुसार विद्युत प्राधिकरणको लापरबाहीले बबरमहलमा मेलम्चीको पाइप फुटेको हो।